भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी

सहयात्रा टिभी

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन् । पूर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कांग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको बताए ।
‘राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ’–उनले कांग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भने । ‘यो ऐतिहासिक घटना हो’–उनले थपे । झण्डै दुई दशकदेखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ बर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन् ।

गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो । राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री भएका थिए । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो । उनले आउँदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्ने छन् ।

भारतीय कांग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरुले राहुल जिन्दावाद भन्दै नारा लगाएका थिए । ‘धेरै बर्षदेखि म यो दिनको प्रतिक्षामा थिएँ । मेरो हर्षको सीमा छैन’–लामो समयदेखि कांग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भने । सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्