केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुपन्देहीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

सहयात्रा टिभी

लुम्बिनी । रुपन्देहीमा सम्पन्न समानुपातिक अन्तर्गतको मत गणनाअनुसार नेपाली कांग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिंदा प्रतिनिधिसभा अन्तर्गतको समानुपातिकमा कांग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको कांग्रेस अन्तिम मत परिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जीत निकालेको थियो । तीन सिट जितेको नेकपा (एमाले) दोस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले तेस्रो स्थान सुरक्षित गरेको हो ।

नेपाली कांग्रेसले एक लाख १५ हजार ३२९ मत प्राप्त गर्दै पहिलो बनेको छ । दोस्रो बनेको एमालेले एक लाख १३ हजार ५८५ मत प्राप्त गरेको छ । त्यस्तै, तेस्रो संघीय समाजवादी फोरमले ३७ हजार २९७, राजपाले २० हजार ५८३, माओवादी केन्द्रले १८ हजार २९४ मत प्राप्त गरेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरेश्वर भण्डारीले जानकारी दिए । त्यस्तै, प्रदेशसभातर्फ पहिलो बनेको एमालेले एक लाख पाँच हजार ७३१ मत प्राप्त गरेको छ । दोस्रो हुँदै कांग्रेसले एक लाख तीन हजार ६९ मत प्राप्त गरेको छ भने तेस्रो संघीय समाजवादी फोरमले ३४ हजार ७० मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले २० हजार ५०६, राष्ट्रिय जनता पार्टी नेपालले १७ हजार ७५९, राष्ट्रिय जनमुक्ति पार्टीले १२ हजार ६६२, राप्रपा प्रजातान्त्रिकले सात हजार ९४२ मत पाएको छ । रुपन्देहीमा प्रतिनिधिसभामा ४९ र प्रदेशसभामा २७ राजनीतिक दलहरुले उम्मेद्वारी दिएका थिए । रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र रहेका थिए । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा एमाले, क्षेत्र नं ४ र ५ का कांग्रेसले जितेको थियो ।
रुपन्देहीलाइ पूर्ण साक्षर जिल्ला घोषणा गरिए पनि यहाँ २२ हजार मत बदर भएको छ । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा

जिल्लाभरको तथ्याङ्क हेर्दा २२ हजार १९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
रुपन्देहीमा मतदाता शिक्षाका लागि ९१ लाख १९ हजार ५०० खर्च भएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले देशभर मतदाता शिक्षाका लागि अर्बौं खर्च गरे तापनि खर्चअनुरुपको मतदाता शिक्षा प्रभावकारी देखिन सकेन । मतदाता शिक्षा प्रदान गर्न जाने शिक्षकले राम्रोसँग मतदाता शिक्षा दिन नसक्दा मतदाता शिक्षाका लागि खर्चिएको रकम बालुवामा पानी हाले जस्तै भएको छ ।

प्रकाशित : 15 December, 2017

प्रतिक्रिया दिनुहोस्