बाग्लुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने

सहयात्रा टिभी

बाग्लुङ । पाँचाँं बाग्लुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ । आयोजक बाग्लुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले यही पुस २३ गतेसम्म चल्ने महोत्सवले बाग्लुङको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै महोत्सव ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक मेलाको रुपमा सञ्चालन हुने बताए । यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरेको थियो ।

सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबललगायत प्रतियोगिता, स्थानीय उत्पादनसँगै सूचना, प्रविधिसम्बन्धी परामर्श, प्रदर्शनी र बिक्री कक्ष राखिने छ । चार नं प्रदेशकै पहिचान झल्कने कला, संस्कृति र तस्वीर प्रदर्शनी र प्रतियोगिता पनि राखिने छ । महोत्सव हेर्न आउने दर्शकलाई हेलिकप्टरबाट नजिकका पर्यटकीय गन्तव्य घुमाउने योजनासमेत राखिएको संघका द्वितीय उपाध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

प्रकाशित : 19 December, 2017

प्रतिक्रिया दिनुहोस्