राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन

सहयात्रा टिभी

सप्तरी । मैथिली भाषा र संस्कृतिको संरक्षण एवम् विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली समुदायलाई एकताको सूत्रमा बाँधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी माघ ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपाल र भारतका मैथिल समुदायका विद्वान र विदुषीको सहभागिता हुने बताइएको छ । दहेजमुक्त मिथिला अभियानका संयोजक प्रवीन नारायण चौधरीका अनुसार सम्मेलनको उद्घाटनअघि मैथिली पहिरनमा दुवै देशका मैथिली अभियन्ता र विद्वान सहितको सहभागितामा शोभायात्रा निकाल्ने कार्यक्रम छ ।

सम्मेलनको प्रथम दिन अन्तर्राष्ट्रिय महिला कवयित्री सम्मेलन र दोस्रो दिन विचारगोष्ठी, सांस्कृतिक कार्यक्रम तथा घोषणापत्र जारी हुने सम्मेलन आयोजक समितिले जनाएको छ । सम्मेलनमा भाषाविद्, कलाकार, समाजसेवीलाई सम्मान गरिनेछ । भारतका मैथिली भाषाका अभियन्ता शिक्षाविद् डा. वैद्यनाथ चौधरीको विशेष पहलमा सो सम्मेलन हुन गइरहेको दहेजमुक्त मिथिला अभियानका संयोजक चौधरीले पत्रकारलाई यस्तोजानकारी दिएका हुन् ।

प्रकाशित : 20 December, 2017

प्रतिक्रिया दिनुहोस्