केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

सहयात्रा टिभी

रोल्पा । जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।
लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् ।

गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसा समेत बढ्दै गएको बताइएको छ । बालविवाह न्यूनीकरणमा किशोर–किशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै अभिभावक शिक्षा समेत प्रदान गरिएको बालविवाह न्यूनीकरण सहजकर्ता तीर्था आचार्यले बताइन् । ‘जिल्लामा अत्यधिक बालविवाह हुने खुंग्री, कोटगाउँ र लिवाङमा परीक्षणका रुपमा किशोरी शिक्षा तथा किशोरीका अभिभावकका लागि तालिम समेत सञ्चालन गरेका छौं’–आचार्यले भनिन् ।

प्रजनन स्वास्थ्य, किशोरावस्था तथा विवाहसम्बन्धी प्रचलित कानुनको समेत जानकारी नभएका अभिभावकलाई यस्ता विषयको जानकारीले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको आचार्यको भनाइ छ । बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने कुरा विगतमा आफूहरुलाई थाहा नभएका कारण बालविवाह गराएको अभिभावक कमला गुरुङले बताइन् ।

अभिभावक शिक्षासँगै बालविवाह न्यूनीकरणमा आफूहरु समेत लागेको गुरुङको भनाइ छ । पछिल्लो तथ्याङ्कअनुसार रोल्पामा हुने विवाहमध्ये ६५ प्रतिशत बालविवाह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि युएनएफपीएको सहयोगमा नेपाल रेडक्रस सोसाइटी, रोल्पाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित : 21 December, 2017

प्रतिक्रिया दिनुहोस्