कसले बुझ्ला मैसराको मनको पीर ?

सहयात्रा टिभी

कञ्चनपुर । जङ्गली हात्तीको झुण्डले घर भत्काएको चार महिना बिते पनि कञ्चनपुरको महाकाली नगरपालिका–३ बडुवाल टोलका ७५ वर्षीय ज्येष्ठ नागरिक मैसरा बुढा आफन्तको शरणमा बस्दै आएकी छिन् ।

आर्थिक अभाव र ढल्दो उमेरका कारण अशक्त भएकैले उनले घर निर्माण गर्न नसक्दा आफन्तको शरणमा बस्दै आएकी हुन् । गत भदौ २३ गते राति हात्तीको बथानले बुढाको घर भत्काएको थियो । त्यसपछि उनी नातिनी नाता पर्ने लक्ष्मी खत्रीको घरमा शरण लिएर बस्दै आएकी हुन् । हात्तीले उनले घरभित्र भण्डारण गरेर राखेको अन्न, ओढ्ने बिछ्याउने, लगाउने लुगाफाटो र खाना पकाउन प्रयोग हुने भाँडाकँुडा सबै नष्ट गरिदिए पछि उनले बाध्य भएर आफन्तको शरणमा बस्नु परेको बताइन् । ‘आर्थिक अभाव र उमेरका कारण ओतलाग्ने नयाँ घर निर्माण गर्ने क्षमता छैन’–उनले दुःखेसो पोख्दै भनिन्–‘अन्न र लुगाफाटोको समेत व्यवस्था नहँुदा आफन्तले दिएको दुई छाकको खाना र लुगाफाटोमै गुजारा चलाउन विवश भएकी छु ।’

ओत लाग्ने टहरा बनाउन पैसा नभएका कारण आफन्तको घरमा रात बिताउँदै आएको मैसराले बताइन् । हात्तीले घर भत्काइ दिएपछि नातिनीको घरमा बास बस्दै आएकी छु, मैसराले भनिन्–‘कसैले सहयोग गर्लान् भनेको कसैले सहयोग गरेनन् ।’ उनका श्रीमान्को जंगली हात्तीको झुण्डले विसं २०७२ मा ज्यान लिएको थियो । ‘खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बित्छ, आफन्तको घरमा सुत्दा पनि कति बेला हो, राति हात्ती आएर मार्ला भन्ने डर छ’–मैसराले भनिन् ।

आफन्तको शरणमा बस्दै आएका मैसरालाई कोही दाता आएर सहयोग गर्ला र घर बनाउँला भन्ने आशा भने जीवित रहेको छ । हात्तीले बेघर बनाएका बुढालाई घर बनाउन सबै थोक किन्नुपर्ने भएको छ । शरीरमा लाउने एकसरो लुगाबाहेक सबै थोक हात्तीले नष्ट गरेपछि ज्येष्ठ नागरिक मैसरालाई आगामी दिनमा कसरी गुजारा चलाउने भन्ने निकै ठूलै पिरलो छ । सबै आउँछन् आश्वासन दिएर मात्रै जान्छन् उनले भनिन्–‘कसैले मेरो समस्या बुझ्दैन ।’

प्रकाशित : 21 December, 2017

प्रतिक्रिया दिनुहोस्