भरतपुर अस्पतालमा प्रसुति गराउन आउनेमा अकस्मात समस्या
चितवन । जिल्लामा प्रसुतिका लागि पहिलो रोजाइका रुपमा रहेको यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसुति गराउन आएका महिलाहरुमा एकाएक समस्या आउने र मृत्यु समेत हुन थालेपछि कारणको खोजी गर्न थालिएको छ ।
चालु आवमा प्रसुति गराउन आएका छ जना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका प्रसुति रोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेल मृत्यु भएकामध्ये तीन जना मुटुको समस्याका कारण र अन्य तीन जनालाई अकस्मात शरीरका विभिन्न अङ्गहरुले काम गर्न छाडेर मृत्यु भएको बताए । दैनिक १० देखि १२ वटासम्म प्रसुतिको शल्यक्रिया हुने अस्पतालमा एकाएक समस्या देखिएको उनले बताए ।
पोखरेलका अनुसार शल्यक्रिया गरेको छ÷सात घण्टापछि बिरामीको शरीरमा किटाणु प्रवेश गरेर मिर्गौला, कलेजोलगायतका महत्वपूर्ण अङ्गहरुले काम गर्न छोड्दै जाने र मृत्यु समेत हुने गरेको छ । गएको मंसिरमा मात्रै तीन जनामा यस्तो समस्या आएकामा एक जनालाई बचाउन सकिएको र अन्य दुई जनाको मृत्यु भएको उनले बताए । यसलगत्तै अस्पतालले औषधि व्यवस्था विभाग र परिवार स्वास्थ्य महाशाखालाई पत्राचार गरी अवस्थाको बारेमा जानकारी गराएको उनले बताए । डा. पोखरेलले सरकारले उपलब्ध गराउने औषधिको गुणस्तरको कारण समस्या भएको हुनसक्ने अनुमान गरिएको बताएका छन् । उनले भने–‘सरकारले निःशुल्क उपलब्ध गराएको स्लाइन पानीमा खराबी भएको हुन सक्ने अनुमान गरेका छौं ।’ पछिल्लो समय अस्पतालले चलाउँदै आएको स्लाइन पानी हटाएर नयाँ खरिद गरी चलाएको पनि उनले बताए ।
औषधि व्यवस्था विभागको टोलीले निःशुल्क बाँडिएको स्लाइनसहितका औषधिको नमूना लगेको पनि विभागीय प्रमुख पोखरेलले बताए । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीका आफन्तलाई चिकित्सकले औषधि आफैं खरिद गर्न सुझाव समेत दिंदै आएका छन् । सरकारले निःशुल्क उपलब्ध गराउने तिनै औषधि अन्य बिरामीलाई पनि प्रयोग गरिरहेकाले स्लाइनलगायत औषधिका कारण नै समस्या भएको हो होइन एकिन गर्न नसकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. रुद्र मरासिनीले बताए ।
देशभरका अस्पतालहरुमा तिनै स्लाइन र औषधि प्रयोग भइरहेकाले औषधि व्यवस्था विभागमा परीक्षणका लागि लगेको नमूनाको नतिजा आएपछि मात्रै भन्न सकिने उनले बताए । सामाजिक सेवा इकाईबाट विपन्न र बीमा गरेका बिरामीहरुका लागि शल्यक्रिया र अन्य उपचारमा तिनै औषधि प्रयोग भएको भए पनि कुनै समस्या भने देखिएको छैन । पोखरेलले डेढ वर्षअघि बुटवलमा र दुई वर्षअघि प्रसुति गृहमा स्लाईन पानीकै कारण यस्तो समस्या देखिएको बताए ।