काठमाडौं ईपीएलबाट बाहिरियो, विराटनगरको रोमाञ्चक जित
काठमाडौं । एभरेष्ट प्रिमियर लिग अन्तरगत सोमबारको खेलमा विराटनगर वारियर्स विजयी भएको छ । काडमाठौं किंग्स ११ लाई ८ रनले हराउँदै विराटनगर लिग चरणको खेलमा अपराजित रहँन सफल भएको हो । १ सय ४८ रनको लक्ष्य पाएको काठमाडौंलाई १ सय ३९ रनमा अलआउट गर्दैै विराटनगरले ८ रनको जित हात पारेको हो ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो। विराटनगरका लागि विदेशी खेलाडी अंशुमान राथ र बाबर हायातले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। अंशुमानले ३२ रन बनाउदा बाबर हायातले ६७ रनमा आउट भए। यस्तै कप्तान पारस खडकाले २६ रन थपेका थिए।
बलिङ काठमाडौंका सोमपाल कामी र अमरसिंह रौतेलाले दुई-दुई विकेट लिएका थिए। १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।
उसका लागि फारवेज मुसरफले सर्वाधिक ४२ रन बनाए। नरेश बुढाऐर ३० तथा सागर पुन १३ रन बनाउनुबाहेक अरूले खुलेर खेल्न सकेनन्। विराटनगरका लागि अंशुमान रथले ३ तथ बसन्त रेग्मीले २ विकेट लिए। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे। यो खेलसँगै विराटनगरको ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित काठमाडौं ५ खेलबाट २ अंक लिएको छ।