अत्याधुनिक मौसमी सूचनाका लागि मौसमी राडार जडान सुरु : ८८ मौसम मापन केन्द्रमा एकैचोटी जडान हुने

सहयात्रा टिभी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित विभागले मौसमी राडार जडान पक्रिया शुरु गरेको हो । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया सुरु भइसकेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए । सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ ।

‘सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ । सम्झौता भइसकेकाले अब करिब पाँच महिनाभित्र राडार पनि आइपुग्छ । बाँकी दुई ठाउँ पाल्पा र उदयपुरमा राडार राख्नका लागि जग्गा प्राप्ति भई टेन्डर प्रक्रिया अघि बढेको छ र केही हप्तापछि सबै प्रक्रिया टुंगिन्छ,’ उनले भने । राडारका लागि एसियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग रहेको छ भने बाँकी नेपाल सरकारले व्यहोर्नेछ ।

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रूपमा प्राप्त हुनेछ, यसले मुलुकको उड्डययन क्षेत्रलाई सुरक्षित तथा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । राडारले नेपालभरको मौसमी सूचना स्वचालित (अटोमेटिक) रूपमा संकलन गरी वास्तविक समयसहित जानकारी दिन्छ । एक राडारको पूर्वाधारसहित करिब रू २४ करोड पर्छ ।

अठासी मौसम मापन केन्द्र जडान हुँदै
मौसम पूर्वानुमान गर्नका लागि चालु आवको असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान गरिसक्ने विभागले जनाएको छ । अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन् जसको विवरणमा मौसमसम्बन्धी जानकारी दिइन्छ । मौसम विभागमा अहिले जम्मा २२ मौसमविद् छन् । देशभर तापक्रम नाप्ने यन्त्र १ सय ५०, वर्षा नाप्ने ५ सय र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन् ।

फागुनमा पहिलो मौसमी बेलुन उड्ने
मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभाग लागिपरेको छ । अहिले विश्वको विवरण (डाटा) प्रयोग गरी भइरहेको मौसम पूर्वानुमानमा अब भने नेपालको डाटा पनि प्रयोग गरिनेछ । अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र पुग्दैन । ‘अहिलेसम्म माथिल्लो वायुमण्डलको कस्तो मौसमी गतिविधि छन् भनेर डाटा लिन सकेका छैनाँै । आगामी फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलोपटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ,’ महानिर्देशक शर्माले भने ।

बेलुनमा हाइड्रोजन ग्याँस भरेर छोडिन्छ, बेलुन जति माथि जान्छ, त्यहाँको तापक्रम, सापेक्षिक आद्रताको अवस्था, हावाको गति, हावा कुन दिशातिर बहेको छ भनेर तल जमिनको रिसिभिङ स्टेसनमा पठाउँछ । तर, यसका लागि मौसम विभागले छुट्टै कम्प्युटर प्रणाली विकास गर्नुपर्ने हुन्छ । विवरण राख्न शक्तिशाली कम्प्युटर चाहिन्छ ।

नेपालमा पहिलो पटक सुपर कम्प्युटर (हाई पावर कम्प्युटिङ) खरिदका लागि टेन्डर गरिसकेको विभागले जनाएको छ । एक वर्ष्भित्र सबै काम सकेर नेपालको मौसमी प्रणालीलाई विश्वका विकसित मुलुकको हाराहारीमा पुर्याउन सकिन्छ ।

चट्याङसम्बन्धी सञ्जाल निर्माण
मौसम विभागले प्राकृतिक प्रकोपको दुर्घटनाका रूपमा लिइने चट्याङ कहाँ, कस्तो र कहिले पर्दैछ भन्ने पूर्व जानकारी दिने उद्देश्यले पहिलो पटक चट्याङसम्बन्धी सञ्जाल निर्माण गर्ने भएको छ । चट्याङसम्बन्धी अनुगमन तथा केही समयपछि पूर्वानुमान गर्न सकिने महानिर्देशक शर्माको भनाइ छ ।

प्रकाशित : 13 January, 2018

प्रतिक्रिया दिनुहोस्