केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आत्मारामको सपना

सहयात्रा टिभी

मुकुन्द घिमिरे

 

 

 

 

 

रोल नं. १४, ठूलो स्वर, बाहृमास  रुघा लागिरहने सोझो परेको बाठो मान्छे मैले उसलाई कलेजको शुरुकै दिन देखेकी  थिएँ । परिचयात्मक कक्षा थियो सुरुको दिन, साथीहरुसँग परिचय गर्दै जाँदा ऊ सँग पहिलो पटक बोलेकी थिएँ । “हेल्लो म शर्मिला चापागाइँ, घर स्याङजा” मैले भने, ऊ अकनबक्क परेर हेरिरयो र एकछिनमा भन्यो “म आत्माराम अधिकारी, काठमाण्डौँ । ” मैले सोचेँ हेर्दा मात्र केटो स्मार्ट रहेछ, केटी देखे पछि त भुतुक्क भइहाल्दो रहेछ । त्यसको दुईहप्ता पछि सम्म ऊ सँग देखादेख मात्र भयो तर प्रत्यक्ष बोलचाल भएन तर किन किन मेरो आँखा ऊ माथि नै हुन्थो । उसको बोल्ने शैली, ब्यवाहार प्रति म आकर्षित हुँदै गइरहेको थिएँ । ऊ प्राय राजा र मुकुन्द सँग हिड्थ्यो भने मेरो नयाँ साथी बनिइसकेका थिएनन् । अहिले सम्झँदा बिनुसा, शुस्मा सँग अलिअलि चिनजान हुन थालेको थियो ।

कलेज सुरु भएको करिब दुइ महिना पछि, एक शुक्रबार बेलुकी खाना बनाउँदै फेसबुक चलाउँदै थिएँ एउटा फ्रेन्ड रिक्वेस्ट आएको थियो, आत्माराम अधिकारीको । मलाई त्यतिबेला ढुङ्गा खोज्दा देउता मिलेजस्तो भएको थियो, किनकी म ऊ सँग कुनै बाहानामा नजिकिन चाहन्थेँ । मैले हत्तनपत्त रिक्वेस्ट स्वीकार गरेँ, लगत्तै उसले म्यासेज पठायो हाइ के छ हाल खबर ? त्यसपछि हाम्रो दैनिक जस्तो कुराकानी हुन थाल्यो । ऊ त देख्दा नबोल्ने भएपनि फेसबुकमा राम्ररी बोल्दोरहेछ । हाम्रो दैनिक सम्पर्क हुन्छ भन्ने कुराको कलेजमा कसैलाई भान सम्म पनि थिएन । ऊ, मुकुन्द र राजा जहिल्यै देब्रे पटिको पाँचौ बेन्चमा बस्थे, अनि म पनि त्यही साइडको कि त चौथो कि त छैटौ बेन्चमा ।

फाइनल परीक्षाको रुटिन आउन लागेको थियो, आत्माराम चार दिन देखि कलेज आएको थिएन । मलाइ मनमा खटपटि हुन थाली सकेको थियो, कहाँ गयो त आत्माराम? ऊ अनलाइन पनि आएको थिएन र उसको नम्बर म सँग थिएन पनि । मैले आँट गरेर मुकुन्द सँग “आत्माराम हरायो त?” भनेर सोधेँ , उसले हाँस्दै भन्यो, “किन यति ढिला गरेर सोधेको? तिम्रो आत्माराम भोली बाट कलेज आउछ रे ” । “तिम्रो आत्माराम ” यो शब्दले कताकता बिज्यो र कताकता खुसी पनी लाग्यो । मैले भने के जिस्क्याको नि साथीको खबर सोध्नु हुदैन ? ऊ मुसुक्क हाँसेर भन्यो, गफ नदेउ मलाई आत्मारामले सबैकुरा भनेको छ । म छक्क परेर सोधे, “होर के भन्यो र तेस्तो?अरुलाई नभन है ? ” उ मुसुक्क हाँस्यो, एकछिन चुप लाग्यो र भन्यो “अस्ति देखि शंका लागेको थियो, हो रैछ ”  ऊ फेरी पहेँलो दाँत देखाएर फिस्स हाँस्यो । मलाई भने आफ्नै सहजपन माथि रिस उठ्न थाल्यो, र लाज पनि लागेर आयो अनि म केही नभनी कक्षाकोठा तिर लम्किएँ ।

अर्को दिन म केही ढिला कलेज पुगेको थिए, आत्माराम अघि नै आइसकेको रहेछ, म सिधै ऊ बसेकै बेन्चमा गएर बसेँ । मुकुन्द फिस्स हाँस्यो मैले चुपचुप भनेर संकेत गरेँ ।

मेरो एउटा कानले सरको लेक्चर सुन्दै थियो अर्को कानले आत्मारामका गफ । ऊ भन्दै थियो मैले सपनामा रुटिन आएको देखेको थिएँ । “कुन दिन कुन विषय छ, त्यो पनि देखेऊ ?” मुकुन्दले गिज्याउदै सोध्यो । उसले पनि अँ भनेर संकेत गर्यो । मुकुन्दले भन्यो लु के देख्यो आत्मारामले , ल शर्मिला , आत्मरामले रुटिन भन्छ तिमी सार त । म आज्ञाकारी बच्चा झै आत्मारामले सपनामा देखेको आधारमा रुटिन सार्न  थाले ।

सँधै झै लक्ष्मी मगर कक्षा सकिने बेलामा हल्लिँदै आइपुगी । ऊ सिधै म भएको ठाउँमा आइ र भनि , खै सरले के लेखाउनु भयो ? मैले केही जवाफ दिन नपाइ उसले मेरो कापी लिएर पछाडी गइ । म आत्मारामको बाँकी  सपना सुन्न थालेँ ।

रुटिनको ब्यग्र प्रतिक्षामा रहेका सबै जनाले मैले लेखेको रुटिन पढेछन् । भित्र भित्रै मोबाइलबाट अन्य सेक्सनमा पनि रुटिन फैलिएछ । कक्षा सकिने बित्तिकै डियानले सोध्यो यो रुटिन कसरी पायौँ ? मैले एकछिन सोचेर भने आत्मारामले दिएको । म त्यो दिन हतार भएकाले एक पिरियड पढेर फर्किइहालेँ ।

बेलुकी आत्मारामसँग च्याट गर्न खोज्दा उसको आइडि नै देखाएन । सायद उसले मलाई ब्लक गरेको थियो । भोलिपल्ट अन्तिम पढाइहुने दिन थियो तर आत्माराम त्यो दिन कलेज आएन । मलाइ धेरै खल्लो लाग्यो ।  म सोच्न थालेँ, किन रिसायो त आत्माराम ? मेरो दिमागमा एक पछि अर्को घटनाहरु याद आउन थाल्यो । अस्ति देबराज र बिकाससगँ खाली पिरियडमा सेल्फी खिच्दा आत्माराम कक्षामा पसेको थियो, फेरी खै किन हो फुत्त बहिर निस्कयो, त्यसमा त रिसाउने केही कुरा देख्दिन । या त ऊ सपनामा देखेको रुटिन अरुलाई बाढेँ भनेर पो हो की? धेरै सोच्न पनि फुर्सद भएन परीक्षा आउनै लागेको थियो, म एउटा किताब निकालेर त्यसैलाई हेर्दाहेर्दै निदाएँ ।

परीक्षाको बेलामा ऊ ढिलो आउँथ्यो छिटो जान्थ्यो, त्यही भएर होला, जम्मा दुईपटक उ सँग देखादेख भयो तर बोलचाल भएन यतिकै परीक्षा सकियो । जब निदाउन चाहन्छु, यहीकुरा मनमा आउँछ की आत्माराम किन म सँग टाढियो? जहाँ सम्म मलाई लाग्छ, मैले उसलाई केही नराम्रो भनेकी छैन त्यसैले आशा छ , उसले मलाइ बुझ्ने छ , र एकदिन मलाई उसको सपनामा अँटाउने छ । अब सात दिन पछि दोश्रो शुरु हुदै छ, भ्यालेन्टाइन डे पनि आउँदै छ, उसले पक्कै पनि प्रेम प्रस्ताव राख्ने छ । र, यस्तै अधुरा सपनाहरु देख्दै म निन्द्रा देवीको काखमा लुटपुटिन पुग्छु ।

(बाँकी अर्को भागमा)

प्रकाशित : 19 January, 2018

प्रतिक्रिया दिनुहोस्