केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निकासीमा देखिएको समस्याले अदुवा कृषक तथा ब्यवसायी मर्कामा

सहयात्रा टिभी

इलाम । माघ —६, नेपालको अर्थतन्त्रको धेरै हिस्सा कृषिमा निर्भर रहेको छ । अहिले राज्य पुनरसंरचना र राजधानी विवादमा देश अल्झिएको बेला ‘सात अ’ को जिल्ला भनेर चिनिने इलामका अदुवा कृषक तथा ब्यवसायी अदुवा निर्यात हुन नसक्दा मर्कामा परेका छन् । इलाममा उत्पादित शतप्रतिशत अदुवा भारत निकासी हुने गर्दछ । विगत दुइ वर्षयता भारतले विभिन्न बाहनामा निकासीमा अवरोध गरिरहेको छ । वर्तमान सन्दर्भमा पनि विगत दश दिन देखि भारतको पानीटंकीमा निकासीमा अवरोध रहेकाले काँकडभिट्टा नाकामा दर्जनौ ट्रकहरु लाइनमा छन् । ब्यवसायीहरुले पटकपटक राज्य पक्ष सँग यस निकासीमा देखिएको समस्या समाधान गर्न अनुरोध गरेता पनि राज्यपक्षको उदाशीनता र कुनै कुटनीतिक पहल नगरिनुले कृषक तथा ब्यवसायीहरु मारमा पर्दै आएका छन् । यसले किसानहरुलाई निरुत्साहित बनाउनुका साथै निर्यात ब्यापार घट्न गई देशको आर्थिक भार अझ बढ्ने सम्भावना देखिन्छ ।

यस विषयमा इलाम जिल्लाका स्थानीय ब्यवसायी कृष्ण पौडेल सँग मुकुन्द घिमिरेले कुराकानी गर्नुभएको थियो । सो कुराकानीको सम्पादित अंश :

तपाईँ यो अदुवा निकासीमा देखिएको समस्यालाई कसरी लिनु हुन्छ?
यो भारतले पटक पटक गर्दै आएको बिबिध बहानामा नेपालको अदुवा रोक्ने एउटा चालबाजी हो ।

किन यसरी तपाइँले भनेजस्ता चालबाजीहरु भइरहेका छन् त?
उसले सिधै नेपालको अदुवा लिन्न भन्न नसक्ने भएकाले विभिन्न बाहना बनाउने गर्दछ ।

विभिन्न बाहना भन्नाले ?
कहिले गुणस्तरीयताको कुरो उठाउँछ त कहिले चाइनिज अदुवा नेपालको बाटो हुँदै आयो भन्छ । खेपै पिच्छे उसका विभिन्न बाहना हुन्छन् ।

यसले कस्ता समस्याहरु निम्ताएका छन् ?
निकासीमा आएको अवरोधले गोदममै अदुवा विग्रने तथा गुणस्तर घट्ने समस्या देखिन थालेको छ । यसका साथै किसानमा अदुवा खेतीप्रति नैराश्यता जागेको तथा व्यवसायीहरु पलायन हुने अवस्था देखा पर्न थालेको छ । यसले राज्यको ब्यापारघाटा अझ बढाएर लैजाने निश्चित छ ।

यो समस्या कसरी समाधान हुन सक्छ ?
यसका लागि नेपाल सरकारले कुटनीतिक रुपमा भारतसँग छलफल गरेर स्थायी समाधान गर्नु पर्छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सरकारले निर्वाध रुपमा निकासी गर्नका लागी दीर्घकालीन संझौता गरी अनुकुल वातावरण सिर्जना गर्नु पर्यो । यदि हामी ब्यवसायीको तर्फबाट कुनै गुणस्तरमा सुधार गर्नुपरे हामी तयार छौँ तर विना रोकटोक सामान यहाँबाट जानु पर्यो । यसरी पटकपटक निकासीमा अवरोध हुनु भनेको राज्यपक्षको पनि कमजोरी हुन आउँछ ।

प्रकाशित : 20 January, 2018

प्रतिक्रिया दिनुहोस्