केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१५६ महिला तथा बालबालिकालाई दुर्व्यवहार गर्ने चिकित्सकलाई १७५ वर्ष कारावास

सहयात्रा टिभी

६ वर्षभन्दा कम उमेरका बालिका पनि यौन दुर्व्यहारको सिकार

विविसि

मिचिगन- अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारलाई यौन दुर्व्यवहार गरेको आरोपमा १ सय ७५ वर्षको जेलको सजाय सुनाइएको छ।

आफ्नै टोलीका महिला जिम्न्यास्टसँगै अन्य महिला, युवती तथा बालबालिका गरी १ सय ५६ जनामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई मिचिगनस्थित जिल्ला अदालतले सो सजाय सुनाएको हो। यसअघि रियो ओलम्पिकको दौरानमा सिमोन बाइल्स, ग्याबी डोग्लाससहित ४ ओलम्पिक स्वर्ण पदक विजेता खेलाडीहरुले आफूहरु पनि नासारको सिकार भएको बताएका थिए।

बयानका क्रममा सबै १ सय ५६ महिलाहरुले आफू नासारबाट पटकपटक पीडित भएको बताएका थिए। अदालतमा उपस्थित भई पछिल्लो एक सातामा सबै पीडितहरुले एकएक गर्दै आफ्नो बयान दिएका थिए।

न्यायाधीश रोजमेरी एक्वेलिनाले फैसला सुनाएकी थिइन्। पीडित महिलाहरुको मुद्दामाथि सुनावाइ गर्दा र नासारमाथि सजाय सुनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको उनले बताइन्। फैसला सुनाउँदै उनले भनिन्, ‘अब तपाईं जेलबाट बाहिर निस्केर हिँड्न पाउनुहुन्न। आफ्नो इच्छाबमोजिम कुनै पनि काम गर्न पाउनुहुनेछैन। जबकि तपाईंको लागि मैले कुकुर पनि पठाउन सक्दिनँ। किनकि मैले तपाईंको आजीवन कारावासका लागि हस्ताक्षर गरिसकेकी छु।’

आरोपमाथि आफ्नो धारणा राख्दै अभियुक्त नासारले १० घटनामा आफ्नो सहभागिता रहेको बताउँदै माफी मागेका थिए। उनले भने, ‘मलाई राम्रोसँग थाहा छ पीडा, आघात तथा भावानात्मक कठिनाइको सट्टामा मैले के महसुस गरिरहेको छु। मेले जे गरेँ ती घटनाको गहिराइ र चौडाइको बारेमा बताउन अहिले कुनै शब्द नै छैन।’

पीडितहरुले आफूमाथि एकपछि अर्को बयान दिने क्रममा नासार लामोलामो स्वास फेरिरहेका थिए। भावुक मुद्रामा देखिएका नासार अधिकांश समय टाउको निहुराएर बसिरहे पनि पटकपटक पीडितहरुपट्टि नजर डुलाइरहेका थिए। उनले भने, ‘मैले तपाईंहरुले भनेका शब्दहरुलाई बाँकी दिनमा अँगालेर हिड्नेछु।’

यसअघिको अभियोग र सजाय
५४ वर्षीय नासार अहिले बालबालिकामाथि यौन दुर्व्यवहार गर्दाका फोटोहरु कम्प्युटरमा संग्रह गरेको आरोपमा ६० वर्ष लामो जेल सजाय भोगिरहेका छन्।

मिचिगन स्टेट युनिभर्सिटीमा कार्यरत रहँदा र अमेरिकी जिम्न्यास्टिक टोलीको चिकित्सकका रुपमा आबद्ध हुँदा नासारमाथि करिब १ सय ५० भन्दा बढी महिला तथा बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। यसका अलावा स्थानीय २ वटा आपराधिक घटनामा समेत उनको सहभागिता रहेको आरोप छ।

अनुसन्धानका क्रममा उनको कम्प्युटरबाट बालबालिकामाथि भएको यौन दुर्व्यवहार दर्शाउने ३७ हजारभन्दा बढी फोटो फेला पारिएको थियो। जसमा ६ वर्षभन्दा कम उमेरका बालिकाहरुको पनि फोटो भेटिएको छ।

आरोप लागेपछि उनलाई सन् २०१६ को नोभेम्बर २१ मा जेल चलान गरिएको थियो।

बयानका क्रममा नासारले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन्।

गत डिसेम्बर ९ मा अमेरिकी जिल्ला न्यायाधीश जनेत नेफले यौन दुर्व्यवहारका ३ वटा मुख्य घटनामा नासारलाई दोषी ठहर गर्दै प्रत्येक घटनाका लागि जनही २० वर्ष गरी जम्मा ६० वर्ष जेल सजाय सुनाएकी थिइन्।

अमेरिकाको स्पोर्ट्स नेसनल गभर्निङ बडीले नासारलाई आफ्नो टोलीमा १९८० को दशकमा सामेल गराएको थियो। उनी सन् २०१५ को जुलाइसम्म टिममा आबद्ध भए। नासारमाथि आरोप लागेपछि अमेरिकी जिम्न्यास्टिक टोलीका प्रमुख स्टिभ पेनीले सन् २०१६ मा राजीनामा दिइसकेका छन्।

अनुवाद : विमर्श कँडेल

स्वास्थ्य खवरपत्रिका

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्