सामूहिक बलात्कार मेलमिलाप प्रकरण : अनुसन्धानको घेराभित्र परे प्रहरी अधिकारी, सई भण्डारी निलम्बित, डीएसपी भारती परिसर तानिँदै

काठमाडौँ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको प्रकरणमा महानगरीय प्रहरी परिसर, दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीलाई आफ्नो कार्यालयमा तान्ने भएको छ । उक्त ‘सामूहिक बलात्कार’ को उजुरी दर्ता नगरी गुपचुप मिलाउन खोजिएको भन्दै उनिहरुलाई कार्यालय तान्ने भएको हो । परिसरले भारतीलाई जिम्मेवारीमुक्त गरेर अनुसन्धानमा तान्न प्रहरी प्रधान कार्यालयलाई मंगलबार पत्र लेखिसकेको छ ।ल्याण्डमार्क होटलमा युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी नायब प्रहरी उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्र भण्डारीमाथि अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।
त्यस्तै, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले पनि दरबारमार्ग घटनाबारे छानबिन गर्न एसएसपी पूर्णचन्द्र जोशीको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । कार्यालय प्रमुख एआईजी जयबहादुर चन्दले समितिले घटनाबारे गम्भीर छानबिन गर्ने र दरबारमार्ग वृत्तको मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारीलाई निलम्बन गर्ने बताएका छन् । भण्डारीले मुद्दाको अनुसन्धान अघि बढाउनु भन्दा पनि मोटो रकम लेनदेनमा उक्त घटना मेलमिलाप गराउन भूमिका खेलेका थिए । भण्डारीले ‘पीडित युवतीका प्रेमी शैलेशका बाबु र युवतीलाई राखेर सई भण्डारी र इन्स्पेक्टर ठकुरीले ‘घटना अघि बढे दुस्ख हुने’ भन्दै मिलापत्र गराएका थिए’
प्रहरी स्रोतका अनुसार ‘सामूहिक बलात्कार’ मा परेकी युवतीका प्रेमी भनिएका व्यक्ति शैलेश कार्की भएको खुलेको छ। रामेछाप, दुरागाउँका शैलेश आमाबाबुसँगै राजधानी बस्दै आएका छन्। आफू सामूहिक बलात्कारमा परेको र पीडकहरू होटलमै रहेको भन्दै पीडित युवती कमलपोखरी वृत्त पुगेपछि वृत्तको टोली तत्कालै उक्त होटल पुगेको थियो। त्यतिबेलासम्म होटलबाट युवाहरू फरार भइसकेका थिए । स्रोतका अनुसार दरबारमार्ग वृत्तले मुचुल्का उठाइसकेपछि दुई प्रहरी र ल्यान्डमार्क होटलका एक कर्मचारीले युवतीलाई उनको कोठासम्म पुर्याइदिएका थिए।
काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा गठन गरेको छानबिन टोलीले घटनाबारे अनुसन्धान अघि बढाएको र आफूहरुले सत्यतथ्य कुरा केहि दिनमै सार्वजनिक गर्ने बताएको छ ।