केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवनियुक्त प्रधानमन्त्री ओलीको आजै ४ बजे शपथ

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभा निर्वाचनको पूर्ण परिणाम आएसगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम उहालाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

निर्वाचन आयोगले निर्वाचनको पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले संयुक्त सरकारको दाबेदारी प्रस्तुत गरेको थियो । राष्ट्रपतिले ओलीलाई नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त गरेसगै आजै अपरान्ह ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेर आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिपाउ भनेर दाबेदारी प्रस्तुत गर्नुभएको थियो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक छ ।

वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी दुई दलको सिट जोडदा १ सय ७४ पुग्छ । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । वाम गठबन्धनबाटै चुनाव लडेको राष्ट्रिय जनमोर्चाको १ सिट छ भने राप्रपाले गठबन्धनकै समर्थनमा एक सिट जितेको छ । प्रतिनिधिसभामा कांग्रेस ६३, राष्ट्रिय जनता पार्टी १७, संघीय समाजवादी फोरम १६, नयाँ शक्ति १, नेमकिपा १ र स्वतन्त्रबाट १ जनाको उपस्थिति छ ।

यसअघि ओली २०७२ साल असोज २४ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वा्चित हुनु भएको थियो ।

प्रकाशित : 15 February, 2018

प्रतिक्रिया दिनुहोस्