सिरियामा भइरहेको नरसंहार रोक्न अविलम्ब पहल गर : मानव अधिकार तथा शान्ति समाज

सहयात्रा टिभी

काठमाडौँ । सिरियामा मानविय संकट दिनानुदिन बढिरहेको छ । हालसालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गइसकेको छ भने उक्त आक्रमणमा परि ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका नै रहेका छन् । यस घटनालाई लिएर मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्र संघलाई पत्र लेख्दै सिरियामा भइरहेको बमबारी र नरसंहार अविलम्ब रोक्न माग गरेको छ । मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन भइरहेको बेला उसले यस्तो पत्र लेखेको हो ।

सिरिया भइरहेको बमबारी र नरसंहार अविलम्ब रोक्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा पारित युद्वविरामको प्रस्तावलाई तत्काल लागू गरी त्यहाँको जनताको जीवनरक्षाका लागि स्थायी शान्ति कायम गर्न सिरियाली सरकार र विद्रोहीलाई दबाब दिन अन्तर्रा्ष्ट्रिय समुदायलाई आग्रह गरिएको पत्रमा उल्लेख छ । सोही क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशलाई सम्बोधन गरिएको ज्ञापन पत्र नेपालस्थित कार्यालयमा हस्तान्तरण गरिएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सिरियालगायत एशिया र अफ्रिकाका आधा दर्जन देशमा मानवताविरुद्धको अपराध बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदर्शनमा राष्ट्रसंघीय युद्धविराम प्रस्ताव लागू गर, बमबारी र नरसंहार बन्द गर, महिला, बालबालिकामाथिको अत्याचार बन्द गर, निर्दोष नागरिकको हत्या बन्द गरलगायतका सन्देश प्रवाह गरिएको थियो ।

प्रकाशित : 27 February, 2018

प्रतिक्रिया दिनुहोस्