एनआरएनको सहयोगमा लाप्राक नमूना वस्तीका घर लाभग्राहीलाई गोलाप्रथाद्वारा निर्धारण

सहयात्रा टिभी

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गको उपस्तिथितिमा लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु गोलाप्रथाद्वारा निर्धारण गरिएको छ । बस्तीका घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको कुन नम्वरको पर्ने हो भनी गोलाप्रथाद्धारा निर्धारण गरिएको हो ।

संघका अध्यक्ष भवन भट्टले एक वर्ष अघि घर निर्माण सम्बन्धी समझौता गरेका लाभग्राहीहरुलाई निर्माण कार्यमा सहभागीता गराउन गोलाप्रथामार्फत उनीहरुको घर छुट्याईएको बताउनुभयो । उहाँले अब आउने गैरआवासीय नेपाली दिवसको अवसरमा सबै घरहरुको निर्माण सकेर औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेको हुँदा निर्माण कार्यलाई तिव्र पार्नकोलागि समेत स्थानीय सहभागीता बढाउन घर छुट्याईएको हो भन्ने जानकारी गराउनुभयो ।

यसैगरी संघका उपाध्यक्ष सपीला राजभण्डारीले अब आउने गैर आवासीय नेपाली दिवसमा सबै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको हुँदा निर्माण कार्य सोही अनुरुप तिव्र रुपमा भईरहेको जानकारी दिनुभयो । राष्ट्रपतिको समुपस्थितमा गत् २०७३ साल वैशाख १२ गतेका दिन लाप्राकमा नेपला सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शहरी विकास मन्त्रालय र गैर आवासीय नेपाल संघको त्रिपक्षिय सम्झौता भएपछि लाप्राकमा निर्माण कार्यको सुरुवात भएको थियो ।

यसै सन्दर्भमा लाप्राकमा एक वर्ष अगाडी गैर आवासीय नेपाली संघले पुनर्निमार्णाका लागि लाभग्राहीसँग भएका काठ, माटो ढुंगा र अन्य निर्माण कार्यमा काम लाग्ने सामग्रीहरुका साथै उनीहरुको सहभागीता सुनिश्चित गराउन उनीहरुसंग सम्झौता गरिएको थियो । हाल निर्माणाधीन घरहरु क्लस्टर अनुसार छुट्टाइएको छ ।

यस परियोजनाको निर्माण कार्यमा सहयोग गर्नको लागि नेपाली सेनाको एक टोली नै परियोजना स्थलिभित्र रही कार्यरत रहि आएको छ । यस अलावा नेपाल सरकार स्थानीय सरकार र स्थानीय समुदायले यस परियोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

कार्यक्रममा संघका अध्यक्ष र उपाध्यक्ष, धार्चे गाउँपालिका अध्यक्षको अतिरिक्त नेपाली सेनाको प्रमुख सेनानी चन्दनसिंह थापा, सेनानी गणेशमान सिंह बस्नेत, गैर आवासीय नेपाली संघ मानार्थ समितिका सदस्य सुभाष अधिकारी र संघका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दवाडी लगायत स्थानीय जनप्रतनिधिको सहभागीता रहेको थियो ।

प्रकाशित : 5 March, 2018

प्रतिक्रिया दिनुहोस्