केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विनोद चौधरी अर्बपतिको सुचीमा दुई स्थान माथि उक्लिए, एक वर्षमा थप २० अर्ब सम्पति

सहयात्रा टिभी

नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पतिमा २० अर्बले वृद्धि भएको छ। विश्वभरीका खर्बपतिको सुची सार्वजनिक गर्दै आएको फोब्र्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो।

फोब्र्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन्। अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ती रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५३ अर्ब रुपैंयाँ पुगेको हो।

चौधरी सम्पत्तिसँगै डलर अर्बपतिको सुचीमा दुई स्थान माथि उक्लेका छन्। फोब्र्सले विश्वभरीका २ हजार २०८ जना डलर अर्बपतीको सुचीमा चौधरी १५६१औँ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सुचीकृत थिए।

फोब्र्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्र्तगतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ।

त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ती करिब ५० अर्बले बढाएका छन्। सन् २०१३ को मार्च महिनामा चौधरीको कुल सम्पत्ती एक खर्ब थियो भने २०१४ मा १ खर्ब १० अर्ब, २०१५ मा १ खर्ब ३० अर्ब, २०१६ मा १ खर्ब १० अर्ब र २०१७ मा १ खर्ब ३० अर्ब पुगेको छ।

चौधरीको सन् २०१५ को मार्चमा १ खर्ब ३० अर्ब रहेकोमा २०१६ मा भने २० अर्बको गिरावट आउँदै १ खर्ब १० अर्बमा सिमित भएको थियो। त्यसपछि भने उनको सम्पत्ती बढ्दै गएको छ।

फोब्र्सले सार्वजनिक गरेको डलर अर्बपतीको सुचीमा विश्वभरीका २ हजार २०८ जना अटाएका छन् जसमा २५९ जना नयाँ धनाढ्य समावेश छन्।

यी सबैको सम्पत्ति जोड्दा ९ दशमलब १ ट्रिलियन डलर हुन आउँछ जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो।

७२ देशका धनाढ्य अटाएको यस सुचीमा हंगेरी र जिम्वावेले समेत प्रवेश गरेका छन्। सूचीमा अमेरिकी मात्र ५८५ जना तथा चीनका ३७३ जना रहेका छन्। सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोसले माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेका छन्।

बेजोसको सम्पत्ति बिल गेट्सकोभन्दा १२ बिलियन डलरले बढी छ। बेजोसको सम्पति ११२ बलियन डलर छ भने गेट्सको ९० बिलियन डलर रहेको छ।

सुचीको तेश्रो स्थानमा सेयरका वादशाह तथा बर्कसायर आथवेका ८४ बिलियन डलर सहित वारेन वफेट, चौंथोमा फ्रान्सको बहुराष्ट्रिय कम्पनी एलभीएचएमका बर्नड अर्नल्ट तथा पाँचौमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ बिलियन डलर सहित समावेश छन्।

news24nepal.tv बाट

प्रकाशित : 7 March, 2018

प्रतिक्रिया दिनुहोस्