साहित्यकार ‘कोइराला’ का दुई कृति लोकार्पण
विराटनगर । विराटनगरमा कर्मथलो बनाएर साहित्य सेवामा समर्पित हुनु भएका उपन्यासकार भीम कोइरालाका हालसालै प्रकाशित दुई उपन्यास, ’महारानी देवलदेवी’ र ’उत्कर्षअवसान’ शनिवारका दिन एक कार्यक्रम वीच लोकार्पण गरिएको छ । विराट साहित्य सङ्गम नामक संस्थाको आयोजनामा विराटनगर-४ स्थित गोग्राहा मा.वि.बरगाछिमा शनिबार एक कार्यक्रममा दुबै उपन्यास लोकार्पण गरिएको हो ।
कार्यक्रममा साहित्यकारहरु वलराम पोखरेल, ऋतु आशीक तथा एकेश्वर रेग्मी द्धारा संयुक्त रुपमा कोइरालाका कृतिको लोकार्पण भएको थियो । विराट साहित्य सङ्गमका अध्यक्ष अग्रज पत्रकार तथा साहित्यकार ऋतु आशीकको अध्यक्षतामा भएको कार्यक्रममा लोकार्पण गरिएका कृति “महारानी देवलदेवी“ (उपन्यास) को साहित्यकार गायत्रीकुमार चापागाईं र “उत्कर्षअवसान“ (उपन्यास) को साहित्यकार वलराम पोखरेलले टिप्पणी गर्नु भएको थियो ।
महारानी देवलदेवी (उपन्यास)
विक्रम सम्वतको चौधौं शताद्धी अर्थात आज भन्दा सातसय बर्षअगाडीको नेपालको ऐतिहासिक, राजनैतिक घटनाक्रममा आधारित भै “महारानी देवलदेवी“ (उपन्यास) लेखिएको हुँदा अत्यन्त रोचक र पठनीय कृतिको रुपमा रहेको छ । त्यतिवेलाको काठमाण्डौं उपत्यका भित्र हुने आन्तरिक द्धन्द्ध तथा आन्तरिक द्धन्द्धले कमजोर भएको अवस्थामा सिम्रनगढको तिरहुत र सिंजाली खस राज्य एवम् बंगालको सुल्तान शमसुद्दीनबाट काठमाडौं उपत्यकामा भएको पटक पटक हमला समेतको वर्णनगरिएको छ । साथै सिंम्रौनगढकी विधवा महारानी देवलदेवीमा आएको विभिन्न उतार चढावहरुको बिषय र त्यतिबेलाको नेपालको अवस्थाको बिषयमा सुक्ष्म किसिमले विश्लेषण गरिएको हुदा कृति अत्यन्त पठनीय रहेको छ ।
उत्कर्षअवसान (उपन्यास)
कोइरालाको अर्को कृति “उत्कर्षअवसान“ (उपन्यास) को विषयवस्तु भने राजनैतिक रहेको छ । वि.सं.२०५२ साल देखि २०७० साल सम्मको कालखण्डमा नेपालमा भएका राजनैतिक दाउपेच र घटनाक्रमलाई नै बिषय बनाएर लेखिएको यो कृतिको शैली ब्यङ्ग्यात्मक रहेको छ । पुस्तकको प्रारम्भ देखि अन्त सम्म नै ब्यङ्ग्या रहेकोले पढ्न अत्यन्त रोचक रहेको छ । उपन्यासमा उल्लेख भएका पात्र र प्रबृतिले सो काल खण्डको इतिहासको झल्को दिने प्रयास गरिएकोले यसलाई पनि ऐतिहासिक उपन्यास नै भन्दा पनि फरक पर्दैन जस्तो लाग्छ ।