आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली : विपक्षमा कांग्रेस मात्रै !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कांग्रेसबाहेक अरु दल र स्वतन्त्र उम्मेदवारले विश्वासको मत दिने भएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई राष्ट्रिय जनता पार्टी (राप्रपा), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत समर्थन गरेपछि दुईतिहाइ बढी मत पुगेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद्को भवनमा अपराह्न तीन बजे प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
सत्ता गठबन्धनमा रहेका प्रमुख दल एमाले र माओवादी केन्द्रसँगै संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) ले विश्वासको मतको पक्षमा भोट दिने निर्णय गरिसकेका छन् । कांग्रेसले राजपालाई प्रतिपक्षको भूमिकामा मतदान गर्न आग्रह गर्दै आएको थियो ।
प्रतिनिधिसभामा एमालेको १ सय २१, माओवादी केन्द्रको ५३, राजपाको १७ र फोरमको १६ जना सांसद रहेका छन् । कुल २ सय ७५ सांसदमध्ये अहिलेसम्म ओलीका पक्षमा २ सय ८ मत देखिएको छ । राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङदेनले निर्वाचनलगत्तै ओलीको पक्षमा उभिने घोषणा गरेका थिए । उनकै घोषणाअनुसार राप्रपाले सरकारको पक्षमा मतदान गर्ने निर्णय शनिबार लिएको हो । ओलीको पक्षमा स्वतन्त्र सांसदले पनि मतदान गर्ने देखिएको छ । जसका कारण यो मत बढ्न सक्ने देखिन्छ ।
प्रधानमन्त्रीको पक्षमा
एमाले १२१,
माओवादी केन्द्र ५३,
राजपा १७,
संघीय समाजवादी फोरम १६,
स्वतन्त्र (राष्ट्रिय प्रजातन्त्र पार्टी १),
स्वतन्त्र (छक्कबहादुर लामा १)
प्रधानमन्त्रीको विपक्षमा
कांग्रेस ६३
अनिर्णित
स्वतन्त्र (राष्ट्रिय जनमोर्चा)
स्वतन्त्र (नेपाल मजदुर किसान पार्टी)
तटस्थ
स्वतन्त्र (नयाँ शक्ति १)
आजै संसदीय दलको संयुक्त बैठक
प्रतिनिधिसभा संसद्मा विश्वासको मत लिनुअघि आजै एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक पनि बस्दैछ । संसद् भवनमै मध्याह्न साढे १२ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि संसद् बैठक सुरु हुनु अघि दुवै दलले संयुक्त बैठक गरेका थिए ।