केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनमा ‘आजीवन राष्ट्रपति बन्न बाटो खुल्दै’

सहयात्रा टिभी

बीबीसी

चीनको न्यास्नल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतस् अनिश्चितकालसम्म सत्तामा रहिरहन बाटो खोलिदिने ठानिएको छ।

देङ सियाओपिङले सन् १९८२ मा ल्याएको उक्त व्यवस्था हटाउनु खतरनाक हुने कतिपय आलोचकहरूले चेतावनी दिएका छन्।

सीमा
चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो। राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गएको अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए।

त्यसको साटो उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गरेका थिए र पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए।

त्यसबाट उनको हैसियत चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङकै हैसियतमा पुगेको थियो।

सन् २०२३ मा सीको कार्यकाल पूरा हुँदैछ।

गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो।

आइतबार हुने मतदानमा उक्त प्रस्ताव कुनै अप्ठ्यारोविना नै पारित हुने ठानिएको छ।

चीनः सी जिनपिङको वर्चस्व कहिलेसम्म?

अरू देशको संसद जस्तै कंग्रेस, चीनको सबैभन्दा शक्तिशाली कानून बनाउने निकाय हो।

विवाद
तर त्यसलाई आफूलाई भनिएका विषयहरूका निर्णय अनुमोदन गर्ने थलोका रुपमा मात्र लिने गरिन्छ।

तर यो विषय विवादरहित भने छैन।

न्यास्नल पिपुल्स कंग्रेसले अहिलेसम्म कम्युनिष्ट पार्टीको निर्णय विपरीत मत खसालेको छैन।

तर केही विवरणहरूमा उक्त निर्णयप्रति असहमति प्रकट गर्दै २,९८० प्रतिनिधिमध्ये केही मतदानमा अनुपस्थित हुने जनाइएको छ।

चीनको सेन्सरु हेर्ने निकायले उक्त विषयमाथिको छलफलमा अवरोध पुर्याएको जनाइएको छ।

सामाजिक सञ्जालहरूमा राष्ट्रपति सीविरुद्ध कार्टुनहरु बनाइएका छन्।

सरकारी समाचारपत्रका एक जना पूर्वसम्पादकले उक्त कदमले अराजकताको बिउ रोप्ने बताएका छन्।

तर सरकारी समाचार संस्थाहरूले ती सुधारका कदमहरू अत्यावश्यक भएको उल्लेख गरेका छन्।

प्रकाशित : 11 March, 2018

प्रतिक्रिया दिनुहोस्