सम्झनामा हजुरबा…………..

सहयात्रा टिभी

यमुना थापा


हजुरबाले संसारबाट बिदा लिएको पनि दुई बर्ष बितेछन्।तर हजुरबाका यादहरु,उहाँका संस्कारहरु उस्तै ताजा छन्। जहाँ सम्म मलाई याद छ,मेरा हजुरबाले ७२ बसन्त बिताउनु भएको थियो,यो सुन्दर धर्तिमा ।मेरो यादहरुको थैलिमा हजुरबा यसरी बस्नु भएको छ कि मलाई लाग्दैन मेरा हजुरवाले यो संसारबाट बिदा लिइसक्नु भएको छ। उहाँले देशको निम्ती कुनै युद्ध लड्नु भएको थिएन । न देशको नाममा कुनै प्रमाणपत्र नै प्राप्त गर्नु भएको थियो। तर मेरि फुपुहरुले कहिलेकाही भनेको सुन्थे म,देशमा भोकमरी लाग्दा पनि हाम्रा बाले हामिलाई कहिल्यै भोको राख्नु भएन । यो कुराले अहिले मलाई लाग्छ यो कुनै युद्धभन्दा कम थिएन । किनकि मेरा हजुर बा नौ सन्तानका पालनकर्ता हुनुहुन्थ्यो तर उहाँले कहिल्यै कुनै कमि राख्नु भएन आफ्ना सन्तानहरुलाई हुर्काउनमा।

मेरा हजुरबा बि.स.२००० सालमा जन्मिनु भएको थियो। र त्यो जमानामा उहाँले तीन कक्षा सम्म पढ्नु भएको थियो र पछी गाउँको बैदार हुदै बिचारी पद सम्म पुग्नुभएको थियो ।त्यसैले पनि गाउघर मान्छेहरु मलाई आजपनि बिचारिकी नातिनी भन्छन् । आज पनि अलि बुढापाका लाई यहि भन्यो भने ठ्याक्कै चिनिहाल्छ्न्। हजुरबा आफ्ना गाउका सात गाउँ वरपरसम्म निकै प्रचलित हुनुहुन्थ्यो । गाउमा कसैको झैझगडा मिलाउनु पर्यो हजुरबाको नाम नै पहिला आउथ्यो । गाउँमा बिकास केही कार्यक्रम गर्नुपर्यो हजुरबा कै नाम अगाडि आउथ्यो । साच्चै भनौ भने हाम्रो समाजको सिङ्गो बिम्ब हुनुहुन्थ्यो मेरा हजुरबा। हजुरबा कहिकतै बाट फर्किदा सधै चक्लेट र बिस्कुट बोकेर ल्याउनु हुन्थ्यो । मेरै पनि भाइबहिनी थियो अन्कल आन्टिका पनि छोराछोरी थिए तर पनि उहाँको पहिलो आवाजमा मेरै नाम हुन्थ्यो । म बरु मेरा आमाबाबाको नजरमा ठुली भएकी थिए होला तर हजुरबा का नजरमा म कहिल्यै ठुली भइन सधै उस्तै रहे बच्चा नै। आज पनि हजुरबाको त्यो हसिलो अनुहार आखामा झलझली नाच्छ र लाग्छ हजुरबा यहि कतै हुनुहुन्छ र यमुना भन्दै बोलाउनु हुन्छ।

हजुरआमासंग म त्यति नजिक भइन हामी सानै छदा उहाँले संसार छाड्नु भएको थियो।हजुर आमा बित्दा हजुरबा कति मलिन हुनुभएको थियो । हजुर आमालाई रातो सारी लगाएर दुलही झै सजाएका थिए अरुले सायद अन्तिम पटक भनेर पनि होला हजुरबाले हजुर आमाको सिउदो रातो सिन्दुरले रंगाउनु भएको थियो अनि आखाभरी आँसु पार्दै एकटकले हजुर आमालाई निहाल्नु भएको थियो ।हजुर आमा बितेपछी हजुरबा एक्लै हुनु भो सायद । त्यसैले बिरामी पनि पर्न थाल्नु भो। अनि रक्सि र चुरोटको साहारा लिन थाल्नु भो त्यतिबेला म सोच्थे किन खानु परेको होला रक्सि र चुरोट। आफ्नो स्वास्थेको पनि ख्याल नगरि। तर अहिले लाग्छ आफुले माया गरेको मान्छे एकछीन कतै हराए त कति पिर लाग्छ झन हजुर आमाले त संसार बाटै बिदा लिसक्नु भएको थियो कति एक्लोपन महसुस भएको हुदोहो हजुरबालाई । सधै संग जिउने भनेर कसम खाएका दुइजना मा एक एक्लै पर्दा साह्रै पीडा हुनेरहेछ क्यारे त्यसैले त हजुरबा घरिघरि टोलाउनु हुन्थ्यो अनि के के सोची बस्नु हुन्थ्यो । म हजुरबाको पछिपछि लाग्थे । जहाँ जानू हुन्थ्यो त्यहि जान्थे । एकछिन एक्लै छड्दिनथे। हजुरबा पनि मलाई साथै लिएर जानू हुन्थ्यो जहाँ जादापनी।

जब म एस.एल.सि. सकेर काठमाडौ आउदै थिए। हजुरबाले भन्नू भएको थियो राम्रो पढ्नु कतै केही गाह्रो भयो भने भन्नू । त्यहाँ मेरा मान्छे धेरै छन् यहिबोली मेरा लागि साहस भएको थियो किनकि मैले देखेकी थिए गाउमा हजुरबा रबाफ। हजुरबा गाँउकै जमानाका कहलिएका वकिल हुनुहुन्थ्यो र आफ्नो सपनालाई अझ अगाडि लैजाउस भनेर हजुरबाले मेरा बुवालाई पनि वकिल पढाउनु भएको थियो,त्यो जमानामा ।
काठमाडौ आएपछि म दसै बिदामात्र घर जान थाले हजुरबासंगको सामीप्यता अलि पातलिन थाल्यो म मा उमेर भरिदै थियो हजुर बाको उमेर सकिदै थियो घर जादा म हजुरबाका लागि केही न केही लिएरै जान्थे । हजुर बा भन्नू हुन्थ्यो तेरो बाले बिर्सयो तर त सम्झिन्छेस। साच्चै म हजुरबालाई साह्रै माया गर्थे त्यति त म आफुलाई पनि गर्दिन । हजुर बाको त्यो मुस्कानले भरिएको अनुहार अग्लो कद सधै लामो कोट लाएर ठाटका साथ हिड्ने त्यो रबाफ आजपनी मेरा अगाडि संग्लो भएर आउछ । कहिलेकाही हजुरबालाई भेट्न अलि ढिला भयो भने हजुरबा यमुना भन्दै आउनु हुन्थ्यो ।त्यसलेपनी घर जादा म सबैभन्दा पहिले हजुरबा को मा जान्थे पछिपछि त उहाँ बिरामी हुनुहुन्थो त्यसैले धेरै हिडडुल गर्न मनाही थियो । यति धेरै माया गर्ने हजुरबा को जिबनका अन्तिम दिनहरुमा म उहाँसंग्ग हुन सकिन यहि कुराको सधै अपशोच हुन्छ मलाई । अन्तिम पटक पनि उहाँ भेट्न पाइन् उहाको अनुहार नजरमा कैद गर्न सम्म पाइन ।

यता मेरो बि.ए. अन्तिम बर्षको फाइनल एक्ज्याम आइरहेको हो । उता हजुरबा जिबन र मृत्युसंग संघर्ष गर्दै हुनुहुदोरहेछ । ममिले भन्नू पनि भएको हो, नभनेको हैन । पहिला पनि बिरामि भएकै हो,सन्चो हुन्छ होला भन्ने सोचेर एकज्याको तयाइमा जुटे म तर घरमा हजुरबाका दिनहरु सकिदै गएका रहेछन् उहाँ दिनप्रतिदिन मृत्युको नजिक पुगिरहनु भएको रहेछ । यसै चैतको महिना एक साझ मोबाइल बज्यो हेरे मम्मिको फोन रहेछ ।मैले हलो मम्मि मात्र के भनेकी थिए । मम्मिले भन्नू हो यमुना हजुरबा बित्नु भो ।साच्चै त्यो क्षण मैले संसार यति अँध्यारो देखे कि त्यति अँध्यारो मैले औसिको रात पनि देखेकी थिन । यसरी रुन मन लाग्यो कि सारा आँसु रित्याउन मन लाग्यो र म रोए पनि । साथिहरु ले सम्झाए । हजुरबाको सपनाको थियो कि म धेरै पढु र उहाँ भन्दा पनि धेरै काम गरु दिनदुखिको सेवा गरु।एकातिर हजुरबा बितेको खबर,अर्को तिर फाइनल एक्जायम,म घर जान पनि पाइन । जब घर गए हजुरबा हुनुहुदैनथ्यो ।थिए त बस उहाँका यादहरु उहाँका पदचापहरु ।त्यतिबेला मलाई थाहा भयो म किन घर गएनछु मलाई आज पनि साह्रै पछुतो लाग्छ हजुरबाको अन्तिम समयमा उहासंग हुन नपाएकोमा।

आजपनी जब म घर जान्छु ती प्रत्येक ठाउँ निहाल्छु जुन हजुरबाका लागि प्रीय थिए । हजुरवा भन्नु हुन्थ्यो तेरो फोटो ठुलो बनाएर यहाँ  राख्नु पर्छ । घरमा सबैको फोटो ठूलो बनाएर एउटा कोठामा राख्ने चलन थियो त्यतिबेला,र अझै पनि छ यो चलन। जब हजुरबाको कोठा हेर्छु लाग्छ हजुर बा यहि हुनुहुन्छ र अहिले नै यमुना त आइस भन्दै आउनु हुन्छ। सायद उहाँलाई अन्तिम पटक नदेखेर होला हजुरबा हुनुहुदैन भन्ने आभास नै हुदैन मलाई ।भन्छन् शरीर मर्छ,आत्मा हैन त्यसैले पनि यस्तो लाग्छ हजुरबाको आत्मा पनि यहि कतै छ र हामिलाई हेरिरहेको छ।

हजुरबा मैले कहिल्यै हजुरलाई नयाँ बर्षको शुभकामना दिन अझ भनौ दिनै पाईन । कस्ले भन्छ जिउदो हरुमात्र शुभकामनाका पात्र हुन्छन् । हजुरबा हजुर यो दुनियाँमा नभए पनि कहिन कति त पक्कै हुनुहुन्छ । एक न एक दिन हाम्रो भेट कसो नहोला ,यो दुनियाँमा नभए नि,त्यो दुनियाँमा नै सहि । यो दुनियाँमा सबैले नयाँ बर्षको शुभकामना आदान प्रदान गरिरहेछन तर मलाई यो नयाँ बर्ष हजुरको आशीर्वादले सुरु गर्न मन लाग्यो ।शुभकामना हजुरसंग साट्न मन लाग्यो मलाई थाहा छ हजुरबा हजुर जहाँ हुनुहुन्छ मलाई देख्नुहुन्छ र सदै मलाई हौसला र प्रेरणा दिरहनु हुनेछ।मेरो प्यारो हजुरबा जहाँ भएपनी जुन दुनियाँमा भए पनि हजुरलाई नयाँ बर्षको धेरै धेरै शुभकामना
मिस यु सो मच हजुरबा ।।।।।।।।।।

प्रकाशित : 13 April, 2018

प्रतिक्रिया दिनुहोस्