केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले माओवादी एकतावारे आज ठोश निर्णय आउने सम्भावना

सहयात्रा टिभी

काठमाडौं, बैशाख ८, लामो समय देखि नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता हुने भनिएपनि एकता भने हालसम्म हुन सकेको छैन । दुई पार्टीविच मुख्य नेताको व्यवस्थापन नै सबैभन्दा ठूलो बाधक बनेको बुद्धिजिवीको भनाई रहेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड दुवै अध्यक्ष रहने गरी एकता बनाउने गरि बनेको खाका बमोजिम ३ सय ५० सदस्यीय केन्द्रीय कमिटी पुर्याएपनि मुख्य नेताको भावी नेतृत्वको होडले गर्दा एकता लम्बिएको हो ।

एमाले र माओवादीबीच एकता महाधिवेशनपछि दाहाललाई अध्यक्ष बनाउने सहमति भइसकेको थियो । निर्वाचनलगत्तै एकता भएको अवस्थामा माओवादीले पहिला सहमति भएको ६०(४० को अनुपातसमेत छाड्न सक्ने अवस्था थियो तर, लम्बिँदै जाँदा दुई नेताबीच दुरी बढेको छ ।

एमाले र माओवादी दुवैतिरबाट ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि महाधिवेशनपछि अध्यक्षको वचन दिएको दाबासहितको सूचना बाहिर आएपछि दाहाल एकताका लागि आफूलाई भावी अध्यक्ष किटान गरेर जानुपर्ने अडानमा उभिएका हुन् । पार्टी एकताको विषयमा निचोड निकाल्न ओली र दाहालबीच शुक्रबार लामो छलफल भएको छ । तर, दुई नेताबीचको छलफल विषयभन्दा एकअर्का प्रतिको आशंकामै समय बितेको छ । दाहाल पछिल्लो समय प्रधानमन्त्री ओलीको सकारात्मक काममा समेत प्रश्न उठाउन थालेपछि बालुवाटार–खुमलटारबीच केही आशंका रहेको छ ।

प्रकाशित : 21 April, 2018

प्रतिक्रिया दिनुहोस्