‘नागरिक अधिकार’ मोबाइल एप सञ्चालनमा ल्याउने तयारी

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१०, नेपालमा अब ‘नागरिक अधिकार’ मोबाइल एप सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नागरिकहरुको गुनासो तथा समस्याहरुलाई सम्बन्धित निकायसम्म सजिलै पु¥याउन सकिने गरि मोबाइलमा एप सञ्चालन गर्ने तयारी गरिएको हो ।

यस्तो एपमा सबै मन्त्रालय र सम्बन्धित निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म पुर्‍याउन सकिने अवधारणा तयार गरिएको छ ।

यसमार्फत आउने गुनासो प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र पनि राख्ने तयारी छ । सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास सरकारको छ ।

यो एप निर्माणको लागी गृहकार्य थालिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

अहिले सम्म ‘हेलो सरकार’ मार्फत सरकारले जनताको गुनासो सुन्ने गरेकोछ । यो माध्यमबाट सरकारलाई गुनासो पोख्न टेलिफोन र सामाजिक सञ्जालबाट मात्र सकिन्छ । तर अब सरकारका सेवा, सुविधा, नागरिरकका समस्या सिधा सम्बन्धित निकायमा पुग्ने गरि एप तयार गरिने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्