केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रत्यारोपण केन्द्रमा झुक्याएर एक युवकको मिर्गौला निकालियो

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१४, मानसिक रुपमा विरामी भएका एक युवकको झुक्काएर मिर्गौला निकालिएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाई प्रलोभनमा पारेर २९ वर्षीय कुमार गिरीको मिर्गौला निकालिएको हो ।

विराटनगर उपमहानगरपालिका–१ मोरङ घरभई भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतले नक्कली कागजपत्र बनाई गिरीको मिर्गौला निकालेर प्रत्यारोपण गरेको पीडितका ठूलोबुबा गणेश गिरीले बताएका छन ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा गिरीको मिर्गौला चोरी भएको हो । गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणिकारणका नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको बताइएको छ ।आशिष फरार रहेको प्रहरीले जनाएको छ ।

वैशाख १० गते मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको र एकसाता अस्पतालमा उपचार पछि बस्नेतको डेरामा लगिएको पीडितले बताए । नेपालको कानुन अनुसार नजिकका आफन्तबाहेक अन्यले मिर्गौला दिन मिल्दैन । गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घर नजिकै लगेर केही दिनअघि छाडिएको थियो ।

आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको हो । जसअनुसार शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा मौखिक उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मात्र जाहेरी दर्ता भएको र उक्त जाहेरी अनुरूप नै प्रहरीले मानव अङ्ग बेचबिखन मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्