सुनसरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना पक्राउ
सहयात्रा टिभी
सुनसरी । जेठ–२१, सुनसरी जिल्लामा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्ने तीन युवाहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगैको हरिनगरकी एक महिलाले छोरीको विराम निको पार्न पुजापाठ गर्दै गर्दा बोक्सी भनी कुटपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
छोरीलाई देवीदेवता लागेको भनी पुजारीले पुजापाठ गर्न लगाएबमोजिम ती महिलाले पुजापाठ गर्दै गर्दा गढी निवासी सुवालाल मेहताले बोक्सी भनी ती महिलालाई कुटपिट गर्न आफ्ना छोराहरु रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहतालाई आदेश दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
उनीहरुलाई आइतबार बेलुका नै नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही अघि बढाइएको छ भने पिडित महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ ।


