केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्ने झोलुंगे पुल जीर्ण अवस्थामा

सहयात्रा टिभी

कञ्चनपुर । जेठ–२२, महाकाली नदीको दोधारा र चाँदनीलाई सदरमुकामसँग जोड्ने झोलुंगे पुल दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुलको समयमै मर्मत संभार हुन नसक्दा फलामे डोरी र मुख्य रडहरु ठाउँ ठाउँमा चुँडिन थालेका छन् । २०६१ मा ९ करोड ४२ लाख बराबरको लागतमा निर्माण गरिएको उक्त पुल मर्मत संभारको अभावका कारण एक दशकमै जीर्ण अवस्थामा पुगेको हो ।

पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिँजालीले बताए ।

पुलको क्षमता भन्दा बढि मालसामान ओहोरदोहोर गरिएकाले साथै नेपालीहरु भन्दा पनि बढि मात्रामा भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले पुलको प्रयोग गर्ने हुँदा पनि चाँडै पुल चुँडिन लागेको स्थानीयहरुको भनाइ छ ।

पुल नबन्दासम्म भारतीय बाटो भएर सदरमुकाम आउजाउ गर्ने चाँदनी दोधाराका बासिन्दाहरु हाल पुलको अवस्था देखेर कतिबेला कस्को ज्यान जाने हो भन्नेमा त्रसित छन् । सरकारको वेवास्ता र समयमा मर्मत संभारको अभावका कारण दक्षिण एसियाकै दोस्रो ठूलो पुल जीर्ण बनेकोमा स्थानीय बासिन्दाहरु निरास छन् ।

दैनीक तीन हजार यात्रुहरुले प्रयोग गर्ने यो पुलबाट जिल्लाका करिब ५० हजार बासिन्दा लाभान्वित छन् । यो पुल स्थानीय बासिन्दाको सुविधाका साथै पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु पनि हो । १ हजार ४ सय ५२ मिटर लामो यो पुलको मर्मतमा चाँडो भन्दा चाँडो राज्यको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्