महिनावारी हुँदा विद्यालय जाने वातावरण नभएको बालिकाहरुको गुनासो

काभ्रे । जेठ–२४, काभ्रेको रोशी गाउँपालिका–१ खहरेपांगुमा विद्यार्थीहरुले महिनावारी हुँदा विद्यालय जाने वातावरण नभएको गुनासो सहितको नाटक प्रस्तुत गरेका छन् । विकट क्षेत्रमा अझै पनि महिनावारी हुँदा विद्यालय छुटाउनु पर्ने बालिकाहरुको पिडालाई विद्यार्थीहरुले नाटक मार्फत प्रस्तुत गरेका हुन् ।
विद्यार्थीहरुले समाजका अगुवा, अभिभावकहरु, शिक्षकशिक्षिका र संचारकर्मीहरुलाई समेत भेला गराइ देखाइएको नाटकमा तामाङ समुदायका संस्कार संस्कृति, सरकारी विद्यालयका शिक्षकहरुको गैर जिम्मेवारीपूर्ण भूमिका र बालिकाहरु महिनावारी हुँदा विद्यालय जान नसक्ने अवस्थालाई दर्शाइएको छ ।
विद्यार्थीहरुले विद्यालयमा महिला मैत्री शौचालय नभएको, सेनेटरी प्याडको व्यवस्था नभएको र महिनावारी हुँदा अधिकाशं बालिकाहरुको विद्यालय छुट्ने समस्यालाई मुख्य रुपमा देखाउन खोजेका थिए ।
त्यसैगरि सरकारी विद्यालयमा पढाउन भन्दा पनि जागिर खानको लागी मात्र विद्यालय आउने, कक्षा कोठामा प्रवेश गरिसकेपछि पनि फेसबुकमा व्यस्त रहने शिक्षकहरुलाई पनि नाटक मार्फत व्याङ्ग्य गरिएको छ ।