विभिन्न क्षेत्रका १११ प्रतिनिधि सहित प्रधानमन्त्री ओली मंगलबार चीन जाँदै
काठमाण्डौं । असार–४, प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार उत्तरी छिमेकी देश चीनको राजकीय भ्रमणमा निस्किदैँ छन् । सरकारी र निजी क्षेत्रका १११ प्रतिनिधि सहित प्रधानमन्त्री ओली मंगलबार बिहान चीन भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणमा प्रधानमन्त्री ओली सहित सरकारी क्षेत्रका ४८ प्रतिनिधि, निजी क्षेत्रका ५२ व्यवसायीहरु र ११ जना संचार क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहने छ । चीन भ्रमणको टोलीमा बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरु पनि समावेश रहने छन् ।
प्रधानमन्त्री ओलीले नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक विमान छाडेर चीनको तिब्बत एयरलाइन्स र नेपाली व्यवसायी आङ छिरिङ शेर्पाको लगानी रहेको हिमालय एयरको विमान चार्टर गरेर चीन जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीद्धारा भ्रमणका क्रममा चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गरिने, केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने, तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गरी तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता समेत गर्ने योजना रहेको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमण सकेर असार १० गते स्वदेश फर्कनेछ ।