हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

सहयात्रा टिभी

सहयात्राटीभी : वातावरण सजीव प्राणीको महत्वपूर्ण अंग हो, वतावरण, हावापानीविना कुनै पनि सजिव प्राणीको जीवन सम्भव छैन । वातावरणमा नै रहेर सम्पूर्ण सजिव प्राणीहरु बाँचेका छन् । हामी सजिलै बुझ्छौँ घाम, पानी, हावा, वनजङ्गल, माटो, पशुपन्छी लगायतका सम्पूर्ण वस्तुहरु वातावरण अन्तर्गत पर्दछ, जसमा हामी पूर्ण रुपमा निर्भर हुन्छाँै । जसरी यि सवै बस्तुहरुको सजिव प्राणी जगतलाई आवश्यक छ, त्यस हिसावले यि वस्तुहरुको पनि संरक्षण र सम्र्वद्धन गर्नु उत्तिकै जरुरी छ । तर, संसारकै सर्वश्रेष्ठ प्राणी मानिने हामी मानव जातिबाट नै दिनप्रतिदिन वातावरणको विनाश भइरहेको छ । हामी स्वयं निर्भर रहेको वातावरणलाई हामी स्वयंले विनाश गर्नु भनेको आफ्नो खाल्डो आँफै खन्नु हो भन्ने हामी सवैलाई थाहा छ, तर पनि हामी बुझेर पनि बुझ पचाइरहेका छौँ ।

हिजोसम्म हरियो वन नेपालको धन भनिन्थ्यो, तर आज हरियो वन तस्करको धन भन्ने अवस्था सृजना भइसकेको छ । हिजोसम्म हरिया देखिने ति डाँडाहरु आज उजाड र नाङ्गा भएका छन् । धान, मकै, गहँु फल्ने ती खेतबारीमा आज कङक्रीटका महल ठडिएका छन् । ती गोठाला जाने चौरहरु, चराचरुङ्गी र पशुहरु खेल्ने मैदानहरुमा आज कालो धुवाँ र धुलोको मुस्लो उडिरहेको देखिन्छ । ढुङ्गाहरुमा सिंगेरी खेल्दै छङ्गछङ्ग बग्ने र मधुर धुन निकाल्दै बग्ने नदी र खोलाहरुमा आज पानी बग्दैनन्, बरु कमिला हिँडिरहेको भेटिन्छ ।
हिजो आज पानी पर्ने बेलामा पानी पर्दैन, जाडो मैसममा पनि लामो समय गर्मी भैदिन्छ । फलफुल तथा बालीनालीहरु बेमौसमी फल्ने र फुल्ने गर्दछ । वर्षैपिच्छे पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ । मानववाट बातवरण अनुकुल नभएर बातवरण प्रतिकुल मात्रै काम भईरहेको छ । यो मानीसले वातावरणप्रती गरेको अन्यायको प्रतीफल हो भन्दा खासै फरक नपर्ला ।
दिनप्रतिदिन बढदो जनसंख्या वृद्धि, अव्यवस्थित शहरिकरण, अव्यवस्थित औधोगीकरण, बन फडाँनी जस्ता कारणले गर्दा हामी आफैँले आफ्नो बाटो छोट्याइरहेका छौँ । बढ्दै गइरहेका जनसंख्याको गाँस, बाँस, कपास, रोजगारी लागायतका आवश्यकताहरु पुरा गर्नको लागी भइरहेको वनफडाँनी गरि वस्ती वसाउने, खेतीपाती गर्ने तथा वन तस्करी गर्ने बातावरण प्रतिकुलका काम हुन् । त्यसैगरि अव्यवस्थित शहरीकरण र औधोगीकरण गर्नाले, दिगो विकासको अवधारणाविना नै विकासका नाममा बन फडाँनी गर्नाले वायु प्रदुषण, जल प्रदुषण, ध्वनी प्रदुषण र माटो प्रदुषण बढ्दै गएको छ । फलतः हामीले प्रयोग गर्नेदेखि खाने बस्ने, हिँड्ने हरेक क्षेत्र दिनानुदिन प्रदुषीत हुदै गईरहेको छ ।


आजका मानिसहरु यति व्यस्त र स्वार्थी बनेका छन् कि उनीहरुलाई आफ्नो व्यावसाय र आम्दानीबाहेक अन्य केहि सोच्ने सम्म पनि फुर्सद छैन् । सडकको वरीपरि रुख विरुवा राप्ने, अरुलाई पनि यस कार्यमा प्रेरित गर्ने, गराउने, अनिवार्य रुपमा एक घर एक विरुवाको नीति अवलम्वन गर्ने हो भने पनि बातावरण अनुकुल गराउन थोरै भएपनि मद्धत पुग्ने कुरा हुन् । तर हामी कोहि कसैले यस वारेमा न त सोच्ने नै फुर्सद निकाल्छौं, न त अरुलाई गर्न नै प्रेरित गर्छौ । जबसम्म, राज्यले पनि एक घर एक विरुवा अनिवार्य भनेर जवसम्म ठोस नीति ल्याउदैन र कार्यान्वयनमा कडाई गर्दैन तवसम्म, हामी सडकका लागि सडकपेटि छुट्याउने जग्गा पनि हडपेर व्यापारिक प्रयोजनलाई सर्टर बनाउन तम्सिन्छौं, अनि विरुवा रोप्ने ठाँउ छाड्नु त धेरै परको कुरा ! यसर्थ, हामी आफैँले निम्त्याइरहेको बातावरण प्रदुषणले तत्काल हामीलाई त कुनै असर नगर्ला, तर यसो भन्दैमा के हामीले हाम्रा सन्ततीलाई यहि वरदान छाडेर जाने हो ! यहि धुलो र धुँवामा निसासिएर मर्नु न बाँच्नुको अत्यास लाग्दो कङक्रिटको शहर बनाएर जाने हो ! यस बारेमा हामी सबैले एक पटक मनन गर्नैपर्ने समय आएको छ ।

 

नोट : सहयात्राटीभी ले दिनहुँ समसामयीक विषयवस्तुको पाटोलाई नियाल्ने गर्दछ, यि विषयवस्तुमा यहांले रायसहित सुझाउनुहुनेछ भन्ने अपेक्षा राख्दछौं ।

लिंकहरु : https://sahayatratv.com/?p=23263

प्रकाशित : 2 July, 2018

प्रतिक्रिया दिनुहोस्