केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बढ्दो साईवर क्राईम : आत्महत्या बढ्नुमा इन्टरनेट नै कारण

सहयात्रा टिभी

सहयात्राटीभी : प्रविधिको उच्चतम विकाससँगै विश्व नै आज साँगुरो भएको छ । विज्ञान र प्रविधिले विकास गरेको इन्टरनेटको माध्यमबाट आज संसारको जुनसुकै कुनाका घटनाहरु पनि हामी तुरुन्तै प्रत्यक्ष हेर्न र सुन्न सक्छौँ । सात समुन्द्र पारि भएका मानिसहरुसँँग पनि प्रत्यक्ष हेरीहेरी कुराकानी गर्न सक्ने समय आइसकेको छ । मानिसहरुका घरदेखि कार्यालयसम्मका काममा इन्टरनेटले सहज बनाइदिएको छ । तर प्रविधिको तिव्रतर विकासले मानिसहरुमा जति फाइदा र उपलब्धि प्रदान गरेको छ, त्यति नै हानिकारक पनि बन्दै गईरहेको छ । यसको सहि तरिकाले उपयोग हुन नसक्दा त्यति नै मात्रामा डरलाग्दो र लज्जास्पद घटनाहरु पनि बढिरहेका छन् ।

हरेक क्षेत्रमा सकारात्मक र नकारात्मक दुवै पक्ष हुने गर्दछ । तर साइबर अर्थात इन्टरनेटको क्षेत्रमा हुने नकारात्मक पक्ष भने निकै खतरनाक हुने गरेको देखिन्छ । विश्वमा जनसंख्याको चापसँगै परिवर्तित समयमा अपराधका पनि विभिन्न तरिका र प्रकार देखिन थालेका छन् । हाल विश्व बजारमा निकै चर्चा पाएको अपराध भनेको साइबर अपराध नै हो ।

इन्टरनेट, इन्ट्रानेट र एक्ट्रनेटसँग सम्बन्धित सम्पूर्ण नकारात्मक गतिविधिहरु साइबर अपराध हुन् । विश्वका धेरै मानिसहरु हरेक उद्देश्यले इन्टरनेट अन्र्तगतका फेसबुक, यूटुब, भाइवर, इमो, ट्वीटर आदि चलाउने गर्दछन् । सामाजिक सञ्जाल अर्थात इन्टरनेटको माध्यमबाट अरुको चरित्र हत्या गर्ने, हिंसा फैलाउने, यौनजन्य हिंसा, क्रेडिट कार्ड अर्थात एकाउन्ट ह्याकिङ गर्ने, कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा क्षती पु¥याउनु आदि साइबर क्राइमका उदाहरण हुन्, जुन पछिल्लो समय तिव्र गतिमा वृद्धि भइरहेको देखिन्छ ।

साइबर अपराधको घटना सबैभन्दा बढि अमेरिकामा हुने गरेको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याङकअनुसार अमेरिकामा २३ प्रतिशत, चीनमा ९ प्रतिशत र जर्मनीमा ६ प्रतिशत साइबर अपराध हुने गरेको तथ्याङक सार्वजनिक भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार ६१ प्रतिशत नेपाली नागरिकसँग इन्टरनेट पहुँच छ । इन्टरनेटको सुविधा बढ्दै जाँदा यस सम्बन्धि आपराधिक गतिविधिहरु प्नि तिव्र गतिमा बढिरहेको पाइएको छ ।

नेपालमा चालु आर्थिक वर्षको १० महिनाभित्रमा १ हजार १ सय ७६ साइबर अपराधको घटना प्रहरीमा दर्ता भएको छ । जसमध्ये ५४ जनालाई मुद्दासमेत चलाइएको महानगरीय अपराध महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताव सिंहले जानकारी दिएका छन् । उक्त अपराधीहरुमध्ये सामाजिक सञ्जालका आपराधिक घटनामा ३७ जना, अरुको पासवर्ड  ह्याकिङ गर्ने २ जना, एसएमएस गरेर चिठ्ठा प¥यो भनि ठगि गर्ने ३ जना, युटयुवमा अनावश्यक कुरा गरेर चरित्र हत्या गर्ने २ जना रहेका छन् । सामाजिक सञ्जालमा भएका गतिविधिका कारण कैँयौँ मानिसहरुले आत्महत्यासमेत गरेका घटनाहरु पनि समयसमयमा सार्वजनिक हुने गरेकै छन् । कति घरपरिवारको सम्बन्ध बिग्रिनुमा पनि इन्टरनेट नै कारण बनेको देखिन्छ ।

नेपालमै २०७२ सालमा विभिन्न मन्त्रालयहरुको वेबसाइट ह्याकिङ भएको काण्ड पनि सबैमा सर्ववितितै छ । नेपालमा साइबर अपराधका घटना पछिल्लो समय ह्वातै बढेको छ । २०७१/०७२ मा जम्मा ३०५ साइबर अपराधका घटना दर्ता भएका थिए भने २०७२/०७३ सम्म आईपुग्दा सो संख्या बढेर ८३० घटना दर्ता भए । त्यस्तै गरि, सो तथ्याङक पनि बढेर २०७३/०७४ मा ११९७ पुगेको छ । यो भनेको निकै भयावह स्थिति हो ।  

साइबर अपराधको मामिलामा नेपालको कानुन कमजोर हुनुले साइबर अपराधीहरुको मनोबल बढ्दै गएको हुन सक्छ । नेपालमा साइबर सुरक्षाका लागी छुट्टै सांगठनिक संरचनाको गठन नहुदां पनि यो समस्याले जरा गड्दै गएको हो । नेपालमा साइबर अपराधको निम्ति विद्युतीय ऐन २०६३ प्रयोग गरिँदै आइएको छ । यस ऐनको दफा ४७ मा नेपालमा इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा अनैतिकता, शिष्टाचारविरुद्ध सामाग्री प्रकाशन वा प्रदर्शन गरेमा दोषीलाई १ लाख जरिवाना वा ५ वर्षको जेल सजाय वा दुवै हुनेछ भनिएको छ । तर यसले सबै प्रकारका साइबर अपराधलाई समेट्न सक्दैन । साथै साइबर अपराधी नियन्त्रणका निम्ति यति नै कानुन मात्रै पनि पर्याप्त नीति नहुन सक्छ ।

जसरी दिनानुदिन प्रविधिको विकासले फड्को मारेको छ सोहिबमोजिम सहि प्रयोग भन्दा बढि दुरुपयोग बढ्दै गयो भने हत्या, हिंसा जस्ता घटनामा पनि बढ्न जान्छ । यसरी, साइबर अपराध यहि गतिमा बढ्नै जाने हो भने भोली यसले आतङक निम्त्याउँदैन भन्न सकिदैन । मानिसहरु हरेक कार्यका निम्ति इन्टरनेटमा निर्भर भइरहँदा यस सम्बन्धि अपराध निकै खतरनाक बनेर तपाई हाम्रो अगाडि उभिएको छ । राष्ट्रले उपयोगी नीति नियम अवलम्बन गर्नुको साथै प्रत्येक इन्टरनेट प्रयोगकर्ताहरुले समेत सतर्कता अपनाउन ढिलाइ गरेमा यसले तपाई हाम्रो व्यक्तिगत जिवन, सामाजिक जिवन, संघ संस्थालाई त क्षति पुर्याउछ नै, विश्वमा नै द्धन्द्धको वातावरण निम्त्याउन नसक्ला भन्न सकिन्न ।

नोट : सहयात्राटीभी ले दिनहुँ समसामयीक विषयवस्तुको पाटोलाई नियाल्ने गर्दछ, यि विषयवस्तुमा यहांले रायसहित सुझाउनुहुनेछ भन्ने अपेक्षा राख्दछौं ।

यो पनि पढ्नुहोस् 

 https://sahayatratv.com/?p=23263

https://sahayatratv.com/?p=23288

प्रकाशित : 3 July, 2018

प्रतिक्रिया दिनुहोस्