कांग्रेसले ३० प्रतिशत हिस्सा मागेपछि संसद समिति अलपत्र

सहयात्रा टिभी

काठमाण्डौं । असार–३२, संघीय संसदमा करिब २० प्रतिशत संख्या रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले कम्तीमा ३० प्रतिशत हिस्सा मागेपछि संसदीय समिति गठन अवरुद्ध भएको छ । सार्वजनिक लेखा समितिको सभापतिबाहेक अन्य समितिको नेतृत्व नपाउने भए पनि प्रमुख विपक्षी कांग्रेसले लेखाबाहेक प्रतिनिधिसभाका थप २ समितिको सभापति दावी गरेपछि संसद समिति अलपत्र परेको हो ।

कांग्रसेले कुल मिलाएर १७ समितिमध्ये ५ सभापति नपाए विशेष समितिबाहेक अन्य समितिमा सदस्य नपठाउने भन्दै सत्तापक्षसँग बार्गेनिङ गरेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समितिको सभापतिमा भागवण्डा खोजिएको स्वीकार गरे । उनले विशेष समितिसहित लेखा र अन्य केही समितिमा कांग्रेसको दावी जायज रहेको बताए । सत्तापक्षकै कारण समिति गठनमा ढिलाइ भइरहेको उनको आरोप छ ।

सत्तापक्ष नेकपाले भने संसदीय व्यवस्थाको वकालत गर्ने कांग्रेसले संसदीय समितिका सभापतिमा भागवण्डा खोजेर असंसदीय चरित्र देखाएको टिप्पणी गरेको छ । कांग्रेसलाई २०४८ सालदेखि २०५६ सम्म आफ्नो बहुमत भएका बेला स्मरण गर्न पनि नेकपाका नेताहरुले सुझाएका छन् ।

कम्तीमा ५ सभापति नपाए मिनि संसद मानिने संसदीय समिति बहिस्कार गर्ने कांग्रेसको धम्कीपछि समिति गठन अन्यौलमा छ । संसदीय सुनुवाइ विशेष समितिबाहेक अन्य समितिमा सदस्य सिफारिस भएका छैनन् ।

नेकपाले पहिले समितिहरुमा सदस्य टुंगो लगाएर सभापति चयन गर्ने प्रस्ताव राखेको छ ।तर कांग्रेसले सभापतिको भागवण्डा टुंगो लगाएरमात्र सभापति चयन हुनुपर्ने भन्दै आफ्ना सांसदको नाम दिन मानेको छैन ।

प्रकाशित : 16 July, 2018

प्रतिक्रिया दिनुहोस्