केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रोएसियाली राष्ट्रपति कोटारोभिकबाट केहि सिक्ने कि !!!

सहयात्रा टिभी

सहयात्राटिभि : असार–३२, नेता, मन्त्री लगायत कुनै पनि उच्च पद प्राप्त व्यक्तित्वहरु भन्ने वित्तिकै हामी नेपालीहरुको मष्तिस्कमा औपचारिक दृष्यहरु झल्कन्छन् । उनीहरु न त ठूलै ठट्ठाको विषयमा खुलेर हाँस्छन् न त ठूलो विपत्तिमा पनि खुलेर रुन्छन् नै । हरेक कृयाकलापमा उनीहरु औपचारीक देखिन्छन् । तर यो हाम्रो ठूलो भ्रमलाई क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिकले तोडिदिएकी छन् ।

भर्खरै सम्पन्न २०१८ को विश्वकपको फाइन खेलमा क्रोएसियाकी राष्ट्रपति किटारोभिकले देखाएका क्रियाकलाप विश्वका सबै राष्ट्रपति, नेता, मन्त्री लगायतका उच्च पदाधीकारीहरुलाई चुनौति नै भएको छ ।

क्रोएसियाकी राष्ट्रपति अहिले विश्वका सञ्चार माध्यमहरुमा सकारात्मक रुपमा छाएकी छन् । उनी खेल हेर्न बकाइदा आफ्नो देशको जर्सी सहित रंगशालामा उपस्थित भएकि थिइन्, जुन दृष्यले खेलाडीहरुलाई खेल प्रदर्शनमा अझ बढि हौसला मिलेको देख्न सकिन्थ्यो ।

उनी रंगशालामा खेल हेरिरहँदा कुनै पनि हालतमा कुनै देशकी राष्ट्रपति हुन भन्न सक्ने अवस्था थिएन, किनकि उनी पुरै अनौपचारिक थिइन् । साधारण मानिसहरु सरह खेललाई बढो उत्साहका साथ हेरिरहेकी किटारोभिक गोल हुने बेलामा चिच्याउन समेच पुग्ने गरेको दृष्य पनि देखियो ।

अन्य खेलाडीहरु बस्ने स्थानमा नै सामान्य मानिससरह बसेर खेल हेरेकी राष्ट्रपति किटारोभिक क्रोएसियाको समर्थनका लागि  इकोनोमी क्लासमा रसिया पुगेकी थिइन्। उनी खेल हेर्न उपस्थित भएका फ्रान्सका राष्ट्रपति मार्कनसँग पनि सहज वातावरणमा खेल हेरिरहेकी थिइन्।

क्रोएसियाले फाइनल यात्रा तय गर्दा उनले खेलाडी तथा प्रशिक्षकलाई ड्रेसिङ रुपमै गएर खुसी साटासाट गरेकी थिइन्। आफ्नो देश दोस्रो स्थानमा मात्र सिमित रहनु पर्दा आफु समेत भावुक भएकी राष्ट्रपति कोटारोभिकले खेलाडीहरुसँग अंकमाल गर्दै सान्तवना समेत दिइन् ।

राष्ट्रपति किटारोभिकको खेलप्रतिको भावना र अनौपचारिक व्यवहारले मानिसहरुलाई खेलले भन्दा बढि प्रभावित पारेको छ । यी यस्ता व्यवहार हाम्रा देशका कुनै पनि खेलाडीहरुले कुनै पनि नेता मन्त्री वा राष्ट्रपतिबाट अपेक्षा त के कल्पना सम्म पनि गरेका छैनन् र सायद गर्दैनन् पनि ।

यदि क्रोएसियाको ठाउँमा नेपाल हुन्थ्यो भने राष्ट्रपति लगायतका अन्य नेताहरुले केवल कुनै कार्यक्रम मार्फत भाषणमा सान्तवनाका दुइ शब्द बोलिदिने थिए, यो भन्दा बढि अपेक्षा कसैले पनि गर्दैनन् थिए ।

५० वर्षीया किटारोभिकको अध्ययन अस्ट्रिया र अमेरिकामा भयो भने उनले पिचडि भने आफ्नै देश क्रोएसियामा गरेकी हुन् । उनी निकै भाषामा समेत विज्ञ छिन् । उनी क्रोएसियन, अंग्रेजी, स्पेनिस र पोर्चुगिज भाषा बोल्न सक्छिन्। यस्तै जर्मन, फ्रेन्च र इटालीयन बुझ्न सक्छिन्।

निकै विदुषी मानिने क्रोएसियाकी राष्ट्रपति कोटारोभिक राष्ट्रपति भइकन पनि कुनै घमण्ड नभइ सामान्य मानिस सरह व्यवहार गर्छिन । अझ विश्वकपको फाइन खेलमा उनले देखाएको असाधारण पदको साधारण व्यवहार र खेल प्रतिको उच्च भावनाले क्रोएसियालीको मात्र नभइ विश्वकै भावना जित्न सफल भएकी छन् । उच्च पदमा पुग्नासाथ आफुलाई ठूलो सम्झने केवल औपचारिक व्यवहार मात्र गर्ने घमण्ड भएका नेता, मन्त्रीहरुले उनको व्यवहारबाट केहि पाठ सिक्नु जरुरी देखिन्छ ।

प्रकाशित : 16 July, 2018

प्रतिक्रिया दिनुहोस्