भारतीय प्रधानमन्त्री मोदी चौँथो पटक नेपाल आउने
काठमाण्डौं । श्रावण–२१, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौँथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
यसअघि वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरा घुम्ने योजना बनाएका थिए । पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाण्डौं फर्केका थिए ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौँथो शिखर सम्मेलन काठमाण्डौंमा हुन लागेको छ ।
बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् ।