आत्मघाती गोलले पहिलो अभ्यास खेलमा नेपाल पराजीत

काठमाण्डौं । श्रावण–२३, इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारीका लागि थाइल्याण्ड पुगेको नेपाली यू २३ फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।
खेलमा नेपालले आत्मघाती गोल घरेलु टोलीलाई उपहार दिएपछि नेपाल पराजित भएको हो। नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि १० दिने विशेष प्रशिक्षणमा रहेको नेपाली टोलीमा २९ खेलाडी सहभागी छन्। एन्फाले साफ र एसियन गेम्सको तयारीका लागि भन्दै खेलाडीलाई थप अभ्यासका लागि थाइल्याण्ड पठाएको हो।
अब नेपालले दोस्रो अभ्यास खेल शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।