भदौ १ बाट कडा मुलुकी ऐन लागू हुँदै

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२७, आउँदो भदौ १ गतेबाट मुलुकी संहिता ऐनलगायत ६ वटा नयाँ कानुन लागू हुँदैछ। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी ऐनमा सामाजिक –सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्ने कडा सजाय व्यवस्था गरिएको छ ।
सार्वजनिक आवागमनमा बाधा पु¥याउने गरी चक्काजाम गरे तीन वर्ष, राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना र दाइजो मागे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।
त्यस्तै, धर्म परिवर्तन गराउने विदेशीलाई पाँच वर्ष जेल र त्यसको सात दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ।


नयाँ कानुनअनुसार कसैले वेश्यागमनको प्रचार गरेमा उनीहरूमाथि तीन वर्षसम्म कैद हुनेछ। यस्तै अश्लील प्रकाशन बेचेमा वा अश्लीलता प्रर्दशन गरेमा एक वर्षसम्म जेल सजाय गर्ने व्यवस्था छ।

अब २० वर्ष नपुगी कुनै पनि युवक–युवतीले विवाह गर्न पाउने छैनन्। २० वर्ष नपुग्दै विवाह भएमा त्यो बदर हुनेछ। कार्यविधिको दफा ७० मा विवाह हुन सक्ने अवस्थाबारे उल्लेख गरिएको छ। दफा ६९ मा विवाह गर्ने स्वतन्त्रता उल्लेख गरिएको छ। विवाहको स्वतन्त्रता सबैलाई भएजस्तै जुनसुकै किसिमबाट भएको भए पनि विवाह सार्वजनिक गर्नुपर्नेछ। विवाहलाई गोप्य राख्न पाइने छैन।

बहुविवाह गर्ने पुरुष वा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गरेमा यसलाई अपराध ठहर्‍याएको छ। यस्तो कार्य गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रूपैंयादेखि पचास हजार रूपैंयासम्म जरिवाना तोकेको छ।

कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी कुनै पनि खाद्यपदार्थ उत्पादन गर्न र बिक्री वितरण गर्न ऐनले पूर्ण रूपमा निषेध गरेको छ। यस विपरीत काम गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । यसैगरी पिउने पानी वातावण दूषित गर्नेलाई समेत ५ महिना कैद र पाँच हजार जरिवाना गर्ने व्यवस्था छ।
भदौ १ मा लागू हुने ६ कानुन अन्तर्गत मुलुकी देवानी (संहिता) ऐन, मुुलुकी देवानी कार्यविधि (संहिता) ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन रहेका छन् ।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्