यूईएफए सुपर कपको उपाधि एथ्लेटिको मड्रिडलाई

एजेन्सी । श्रावण–३१, रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले यूईएफए सुपर कप फुटबलको उपाधि जितेको छ । एस्टोनियाको टेलिनमा गएराति भएको फाइनलमा एथ्लेटिको मड्रिडले छिमेकी क्लब रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै डिएगो कोष्टाको गोलमार्फत अग्रता लिएको थियो । तर, २७ औं मिनेटमा करिम बेञ्जिममा रियल मड्रिडका लागि बराबरी गोल गरे र पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ६३ औं मिनेटमा सर्जिओ रामोसले पेनाल्टी गोलमार्फत रियललाई अग्रता दिलाए । तर, ७९ औं मिनेटमा कोष्टाले नै बराबरी गोल फर्काए ।
९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले १ सय ४ औं मिनेटमा अर्को गोल थप गरेपछि एथ्लेटिको मड्रिडले ४–२ गोल अन्तरको जित निकालेको हो ।