केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के पिसाब नरोकिने समस्या भोगिरहनु भएको छ ? जान्नुहोस यसका कारण र समाधानका उपाय

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३१, पिसाब लाग्नु एक प्राकृतिक प्रकृया हो । पिसाबको माध्यमबाट हाम्रो शरिरमा भएका फोहोरहरु बाहिर जाने गर्छ । हामीलाई जति बेला पिसाब लाग्छ, हामी त्यसको केहि समय सम्म रोकेर राख्न सक्छौँ । पिसाब रोक्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो त होइन तर सबै ठाउँमा पिसाब लाग्ना साथै पिसाब गर्न उपयुक्त नहुन सक्छ, जसले गर्दा केहि समय रोक्नु पर्ने पनि हुन सक्छ । तर कतिपय मानिसहरुमा पिसाब नरोकिने समस्या देखा पर्ने गर्छ । यस्तो समस्या भएमा खोक्दा, हाछिउँ गर्दा, थोरै भारि काम गर्दा अथवा हिँड्दाहिँड्दै शौचालय पनि जान नभ्याउने गरि पिसाब चुहिने हुन सक्छ । यस्ता समस्याले दैनिक जीवनयापनमा निकै समस्या देखिन्छ ।

यो आफैँमा रोग भने होइन । अन्य रोगका कारणले गर्दा मानिसहरुमा यस्तो समस्या देखिने गर्छ । विशेष गरेर पुरुषहरुको तुलनामा महिलाहरुमा यस्तो समस्या बढि मात्रामा देखिन गर्छ ।
व्यक्तिको जीवनशैली, रोगको अवस्था तथा विभिन्न शारीरीक समस्याका कारण मानिसहरुमा यस्तो समस्या उत्पन्न हुने गर्दछ । पिसाब नलीको संक्रमणका कारण पनि यो समस्या निम्तने गर्छ । विशेषगरी,पिसाब नलीमा संक्रमण भएमा अचानक पिसाब गर्ने इच्छा जाग्न सक्छ जसका कारण पिसाब चुहिन सक्छ ।

बढ्दो उमेरसँगै पिसाब थैलीको पिसाब संकलन गर्ने क्षमतामा र्‍हास आउने गर्दछ । त्यसैले, उमेरको साथ पिसाब थैली खुम्चनु पनि यो समस्याको कारक हुन सक्दछ ।

महिनावारी रोकिने समयमा महिलामा एस्ट्रोजेन नामक हर्मोनमा कमी आउने गर्दछ । एस्ट्रोजेन यस्तो हर्मोन हो जसले मुत्राशय तथा पिसाब नलीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको कमी भएमा पनि महिलाहरुमा पिसाब नरोकिने वा चुहिने समस्या हुनसक्छ ।

सुर्तीजन्य पदार्थको सेवनले पनि पिसाब अनियन्त्रित हुने सम्भावना अधिक हुने गर्दछ । मोटोपनाका कारण पिसाब नली तथा त्यस आसपासका क्षेत्रमा दवाव सिर्जना हुने गर्दछ । जसका कारण पिसाब नली कमजोर भई खोक्दा वा हाडिउ गर्दा समेत पिसाब चुहिने गर्दछ ।

धेरै उमेर भएका पुरुषहरुको पुरुष ग्रन्थी बढ्ने वा सुन्निे गर्छ । यो समस्या भएमा पनि पिसाब नियन्त्रण गर्न समस्या हुने गर्दछ । पिसाबको नलीमा रोकावट पैदा भएमा वा ट्युमर भएमा पिसाबमा समस्या हुने गर्दछ ।
पिसाब नरोकिने समस्या हुँदा खोक्दा , हाडिउ गर्दा तथा हास्दा पिसाब चुहिने हुन्छ । त्यसैगरि थोरै थोरै पिसाब हुनु, अचानक पिसाब लागेको महसुस हुनु, पिसाब लागे लगत्तै पिसाब चुहिनु, रातीको समयमा धेरै पिसाब लाग्नु, यौन सम्र्पक गर्दा पिसाब चुहिनु, पिसाब चुहिदा कहिलेकाही अचानक धेरै चुहिनु आदि यस समस्याका लक्षणहरु हुन् ।
पिसाब नरोकिने समस्याको समाधानका लागी निम्न उपायहरु अपनाउन सकिन्छ :

–तौल नियन्त्रण गर्ने

–पेल्भिक फ्लोर सम्बन्धि व्यायाम गर्ने

–कैफिन, मदिरा लगायत मुत्राशयलाई उत्तेजित गर्ने पदार्थको सेवन कम गर्ने

–उच्च फाइबर युक्त खानेकुराको सेवन गर्ने

–धुमपान नगर्ने

पिसाब चुहिनु अथवा नियन्त्रण गर्न नसक्नुको कारणबाट पनि दैनिक क्रियाकलापमा मानिसलाई निकै समस्याहरु देखा पर्न सक्छ । यी समस्या आफैँमा रोग नभएकाले यसको कारण अनेक हुन सक्छ । त्यसैले यस्तो समस्या देखिना साथ चिकित्सकहरुसँग सल्लाह लिएर उपचार गराउनु पर्छ । पिसाब चुहिने समस्याकै कारण दैनिक कार्यमा अवरोध खडा भएमा, हिडुनमा कठिनाई भएमा, शरीरको कुनै भागमा कमजोरी महसुस भएमा वा झमझमाएमा, आँखा कमजोर भएमा, कुनै काम गर्न दुविधा भएमा, सोच्ने , सम्झने क्षमतामा कमी आएमा तथा आन्द्रामा समस्या भएमा पनि तुरुन्तै डाक्टरसँग परामर्श गर्न जरुरी हुन्छ ।

प्रकाशित : 16 August, 2018

प्रतिक्रिया दिनुहोस्