बलात्कार र हत्याका दोषीलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१०, प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कडा कारवाही गरिने स्पष्ट पारेका छन् । शनिबार बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सातका सांसद र केन्द्रीय नेतासँगको भेटमा प्रधानमन्त्री ओलीले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रूपमा लिएको जनाउँदै बलात्कार र हत्यामा संलग्नलाई कानुन बमोजिम कारवाही गरिने स्पष्ट पारेका हुन् ।

शनिबारको भेटमा प्रधानमन्त्रीले भनेका छन्, ‘सरकारले घटनालाई गम्भीर रूपमा लिएर छानबिन समिति गठन गरिसकेको छ । घटनाका दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिँदैन ।’

कञ्चनपुरको घटनालाई उत्तेजित बनाएर अझ हिंसा फैलाउने कार्य भइरहेको बताउँदै उनले ती हिंसा फैलाउने व्यक्तिहरुको पहिचान गरि कारबाहि गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।
१३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर कञ्चनपुरमा चर्किएको आन्दोलनबारे नेकपा नेताहरूले प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएका छन् ।

नेकपाका नेताहरुले घटनाको अनुसन्धानमा ढिलाइ भएको तथा स्थानीय प्रशासनले आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेकोमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : 26 August, 2018

प्रतिक्रिया दिनुहोस्