केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३७ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफल

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–११, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३७ हप्ताको गर्भवतीको मुटुको अत्यन्तै जटिल शल्यक्रिया सफल भएको छ । ८ गते बिहिबार मनमोहन सेन्टरले रामेछाप सुनपाती गाउँपालिकाकी ३७ हप्ते गर्भवती प्रमिला अर्यालको मुटुबाट निस्कने मुल नली फुट्न लागेको अवस्थामा शल्यक्रिया गरि सफल भएको हो ।

मुटुकी रोगी २४ वर्षीया अर्याललाई ‘टाइप ए अरोटिक डिसेक्सन विथ प्रेगनेन्सी’को समस्या थियो, जुन निकै दुर्लभ र जटिल समस्या हो । डाक्टरहरुका अनुसार यो रोग लागेको मानिस बाँच्ने सम्भावना निकै कम हुन्छ ।

उक्त जटिल शल्यक्रियामा मनमोहन सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा करिब २५ जनाको टिम खटिएको थियो । शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराई, डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ त्यसैगरि स्त्री रोग विशेषज्ञहरु, बाल रोग विशेषज्ञ लगायतका २५ जनाको टोलि खटिएका थिए ।

शल्यक्रिया बिहिबार बिहान १० बजेबाट सुरु गरिएको बेलुका ५ बजे मात्र सकिएको थियो । गर्भवती महिलाको बच्चा पनि बचाउनु पर्ने, मुटुको जटिल शल्यक्रिया पनि सफल पारी महिलालाई पनि जोगाउनु पर्ने अवस्थामा ७ घण्टासम्म गरिएको लामो शल्यक्रिया निकै जोखिमपूर्ण र जटिल भएको डा. अनिल भट्टराईले बताए ।

डा. भट्टराईका अनुसार सुरुमा महिलाको शल्यक्रिया गरि बच्चालाई सुरक्षित निकालिएको थियो तर बच्चा बेहोस अवस्थामा भएकाले तीन घण्टासम्म भेन्टिलेटरमा राखेपछि भने बच्चा होसमा आएको थियो । बच्चा निकालेपछि मात्र महिलाको मुटुको शल्यक्रिया गरिएको थियो । हाल आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

प्रकाशित : 27 August, 2018

प्रतिक्रिया दिनुहोस्