केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हिम्मतिला बाबु-छोरी : जो दुवैजना पाइलट छन्

सहयात्रा टिभी

काठमाडौं। भदौं १७, विनोद पुरी सेतो सर्ट र कालो पाइन्टमा सजिएर विमान उडानका लागि हरेक दिन घरबाट निस्कँदै गर्दा कलिलो उमेरकी छोरी नेहा नजिकबाट उनलाई निया ल्थिन्। युनिफर्ममा सजिएका बाबुलाई देख्दादेख्दै नेहाको मनमा सायद छाप बसिसकेको थियो, कुनै दिन आफुपनि पाइलट बन्ने र बाबु जस्तै आकाश मा उड्ने।सपना लक्ष्य हो र यसलाई पूरा गर्ने माध्यम हो, आत्मविश्वास। लक्ष्य चुम्ने आत्मविश्वास पनि भएका मानिसले आफ्ना सपना पूरा नगरेका साय दै उदाहारण भेटिन्छन्। लक्ष्य र आत्मविश्वास दुबै बोकेकी नेहाले पनि आफ्नो सपना भेट्टाइन, ८ बर्षअघि उनी पाइलट बनिन्।

फिलिपिन्समा एक बर्ष लगाएर पाइलटको तालिम पूरा गरेपछि उनी नेपाल फर्किन र बाबु विनोद कार्यरत अग्नि एयरमै काम सुरु गरिन् २०६७ सालमा । नेपालमा १ सय ५० बढी पाइलट बेरोजगार नै रहेको त्यो समय नयाँले काम पाउनु दुर्लभ नै मानिन्थ्यो। बाबु नै पाइलट भएकाले नेहाका लागि काम पाउन त्यत्ति कठिन भएन। तालिमबाट फर्के लगत्तै उडान भर्ने उनको सपना सार्थक भयो अग्नि एयरबाटै।मानिसको जीवनमा सायद सबैभन्दा खुसीको क्षण त्यो नै हुन्छ, जब उसले बर्षौंदेखि साँचेको सपना सार्थक हुन्छ। ‘पहिलो पटक विमान उडाउँदाको खुशीले मलाई उन्मत्त बनाएको थियो, मेरो सपना पूरा भएको क्षण थियो त्यो’, नेहा अहिले पनि खुशी हुन बेलाबेला त्यो समयमा फर्किने गर्छिन्।

अग्नि एयरमा पाइलटका रुपमा नेहाले व्यावसायिक उडान सुरु गर्दा बाबु विनोद ‘इन्स्ट्रक्टर पाइलट’ थिए। जसको जिम्मेवारी हो, तालिम सकेर आएका नयाँ पुस्ताका पाइलटलाई उडान सिकाउने। नेहा सायद भाग्यमानी थिइन, जसले बाबु विनोदबाटै व्यावसायिक उडानको सुरुवाती तालिम लिन पाइन।बाबुको साथमा नेहाले पहिलो व्यावसायिक उडान नै ‘माउन्टेन फ्लाइट’ बाट गरिन। ‘पाइलट तालिम लिएका व्यक्तिका लागि व्यावसायिक उडान गर्न पाउनु सफल ताको पहिलो खुड्किलो हो’, नेहा भन्छिन्, ‘त्यसमाथि आफ्नै बाबुसँग माउन्टेन फ्लाइट गर्न पाउँदा म त खुशीले गदगद थिएँ।’ त्यो खुसी साट्न विमानको ककपिटमा त्यसबेला बाबु छँदैथिए।

तर यो ८ बर्ष अघिको समय हो, जुन अनुभव सुनाउँदै गर्दा नेहा आफ्नो मुहारमा उतिबेलाकै जस्तो लाग्ने ताजा चमक ल्याउँछिन्।तर विनोद त्यस्ता व्याव सायिक पाइलट हुन, जो पेशा र पारिवारिक जीवनलाई जहिले पनि छुट्याएर हेर्छन।‘पेशा र पारिवारिक जीवन एउटै होइन’, छोरीलाई व्यावसायिक उडान को तालिम दिँदाको क्षण सम्झँदै विनोद भन्छन्, ‘त्यसैले नेहालाई ककपिटमा मैले छोरी होइन,पाइलटका रुपमा हेरें।’सामान्यतः ककपिटमा एकै परिवारका सदस्य सँगै रहने चलन हुँदैन।

यस हिसावले बाबु–छोरी ककपिटमा सँगै नरहनु पर्ने हो। तर यो चलन वायुसेवा कम्पनी अनुसार फरक–फरक हुने गर्छ । अग्नि एयरले बाबु–छोरीले सँगै उडान गर्न नपाइने नियम बनाएको थिएन। त्यसैले, सौभाग्यवस विनोद र नेहाले सँगै उडान गर्न पाए।सात बर्ष पहिलेको त्यो क्षण सँगै बसेर सुनाउँदा बाबु–छोरी एकटक एक अर्कालाई हेरिरहेका थिए, मुखामुख गरिरहेका थिए। क्यामेरा अगाडि दुबैजना एक अर्काको प्रशंसा गरि रहेका थिए।

सानैदेखि बाबुको व्यावसायिक पथ पछ्याउने सपना देखेकी नेहामा खासगरी एसएलसी उतीर्ण गरेपछि पाइलट बन्ने चाहना चुलिएको थियो। स्कूलको पढाई पनि राम्रो भएकी नेहाले एसएलसीपछि विज्ञान विषय लिइन् र १६ बर्षअघि प्रविणता प्रमाण पत्र तह पूरा गरिन्। त्यसपछि उनले पाइलट नै बन्ने आफ्नो चाहना बाबु विनोदलाई सुनाइन्।विनोदको चाहना चाहिँ छोरी पाइलट होइन, इन्जिनियर बनुन भन्ने थियो।

इन्जिनियरिङमा स्नातक तह उतीर्ण गर, अनि मात्र तिम्रो पाइलट बन्ने चाहना पूरा हुनेछ’, विनोदले नेहालाई इन्जिनियरिङतिर डोर्याउँदै त्यसबेला भनेका थिए।बाबुको शर्त अनुसार २०६३ ताका उनले इन्जिनियरिङको पढाई सकिन्। ‘स्नातक उतीर्ण भएको दुई बर्षपछि इन्जिनियरिङ फिल्डमै दुई बर्ष कामपनि गरें’, उनले भनिन्, ‘मनमा पाइलट बन्ने चाहना अझै तीब्र थियो, त्यसैले फेरि बाबालाई म त पाइलट कोर्श नै गर्छु भनें।’

विनोदले छोरीलाई पाइलट नबन्न उत्प्रेरित गर्नुको एउटा कारण थियो, यो पेशामा ‘मेडिकल्ली ग्राउण्डेड’ भएमा उडान गर्न नपाइने नियम। यो पेशामा‘ग्राउ न्डेड’ हुन ठूलो रोग नै लाग्नुपर्छ भन्ने छैन। औंला काटियो भनेपनि पाइलटलाई ‘मेडिकल्ली ग्राउन्डेड’ गरिन्छ। तर विनोदले छोरीसँग बाचा गरिसके का थिए, इन्जिनियरिङमा स्नातक गरेपछि पाइलट कोर्श गर्न पाउनेछौ भनेर। छोरीले पुनः आग्रह गरेपछि उनले त्यो बाचा पूरा गर्दै नेहालाई पाइलट तालिमका लागि फिलिपिन्स पठाए।

आफ्नै पेशामा आउन चाहेकी छोरी प्रतिस्पर्धामा खरो रुपमा उत्रिउन् भन्ने स्वभाविक चाहना विनोदमा थियो। तालिम एक बर्षको थियो। बाबु विनोद छोरी भेट्न फिलिपिन्स गइरहन्थे। एकपटक समय मिलाएर नेहाको उडान तालिम हेर्न उनी फिलिपिन्स गए तर त्यो अवसर पाएनन्। विनोद पुगेकै बेला मौसम एकाएक खराब भयो र नेहाले उडान गर्न पाइनन्।

नेपाल भौगोलिक विविधता भएको मुलुक हो, जहाँ आउने धेरै पर्यटक ‘स्टल फ्लाइट’ ९पहाडी र हिमाली क्षेत्रको दृष्यावलोकनका लागि हुने उडान० गर्न लालयित हुन्छन् । समथर भूभागमा गरिने भन्दा हिमाली र पहाडी क्षेत्रमा गरिने उडान डरलाग्दो मानिन्छ । यस्तो उडान मुगुको ताल्चा, सोलुको लुक्ला , हुम्लाको सिमकोट विमानस्थलबाट हुने गर्छ।कच्ची मैदान, छोटो धावनमार्ग, वरिपरी हिमाल–पहाड भएको विमानस्थलबाट यस्तो उडान हुने गरेपनि नेहालाई भने यस्तै स्थानमा उडान गर्न रमाइलो लाग्ने रहेछ। बाबु–छोरीले यस्तो उडान धेरै पटक गरेका छन्।

नेहा ‘रिस्की’ स्थानमा गरिने यस्तै उडानमा बढी ‘इन्ज्वय’ गर्छिन्।‘यो पेशाको मज्जा भनेकै स्टल फ्लाइट हो’, उनी भन्छिन्, ‘स्वच्छ हावा, हिमाली क्षेत्रको दृष्य, पहाडले घेरिएको विमानस्थलमा उडान गर्न पाउँदा निकै गौरव लाग्छ।’त्यसो त बाबु–छोरीले भैरहवा, पोखरा, भद्रपुर, बिराटनगर जस्ता सुगम विमानस्थलबाट पनि सँगै उडान भरेका छन्।

केही बर्षको उडान अनुभवपछि प्रायः पाइलटमा एउटा अर्कै रहर जाग्छ, जेट विमान उडान गर्ने रहर। नेहाले उडान सुरु गरेको आठ बर्षपछि नै अघिल्लो बर्ष त्यो इच्छा पनि पूरा गरिन। हिमालयन एयरलाइन्सको काठमाडौं–दोहा उडानसँगै अन्तर्राष्ट्रिय उडानको उनको यात्रा सुरु भयो।नेपालभित्रैका हिमाल–पहाड छिचोल्ने नेहा अब अन्तर्राष्ट्रिय सिमा नाघ्न थालिन। सेनेका, जेटस्क्रिन जस्ता विमानबाट आन्तरिक उडान गरेकी उनी अहिले हिमालय एयरलाइन्सको एयरबस ३२०-२०० उडान गर्दैछिन्। जसले दोहो, दुबई, दमाम, क्वाललाम्पुर उडान भर्दै आएको छ। छोटो समयमा अन्तर्राष्ट्रिय उडान गर्न पाउनुको श्रेय पनि बाबु विनोदलाई नै दिन्छिन् नेहा। ३७ बर्ष आन्तरिक उडानको अनुभव बटुलेका विनोद भने हाल समिट एयरमा ‘कर्पोरेट सेफ्टी डिमार्टमेन्ट हेड’ छन्।

विनोदले २०३७-०३८ ताका तत्कालिन शाही नेपाल वायुसेवा निगमबाट व्यावसायिक उडान सुरु गरेका थिए। त्यो भन्दा एक बर्षअघि मात्र उनी क्यानाडा सरकारको छात्रवृत्तिमा एक बर्षे पाइलट तालिमका लागि क्यानडा गएका थिए।त्यसबेला निगममा नेपाली भन्दा भारतीय पाइलटहरुको संख्या धेरै थियो। विदेशी पाइलट विस्थापित गर्न निगमले २४ जनालाई छात्रवृत्तिमा पाइलट तालिमका लागि क्यानाडा पठाएको थियो।पाइलट अभावबीच निगमले नै छात्रवृत्ति मा तालिमका लागि पठाएकाले फर्कनासाथ विनोदलाई उडानको कुनै समस्या परेन। उनले निगममै उडान गर्न थाले। यो चार दशकको अवधीमा उनले नेपाल वायुसेवा निगम बाहेक एभरेष्ट एयर, कस्मिक एयर, गोरखा एयरलाइन्स, स्काइलाइन एयरवेज, सिम्रिक एयर र समिट एयरका विमान उडाए।

नेपालका ७ वटा वायुसेवा कम्पनीमा काम गरेको अनुभवका आधारमा उनले के निष्कर्ष निकालेका छन् भने, नेपालका वायुसेवा कम्पनीहरुले व्यावसायिकता को पक्ष उतिसार्‍हो बुझेका छैनन्। बजारीकरण गर्न पनि जानेका छैनन्। एक समय थियो, वायुसेवा कम्पनी खुल्थे तर छिट्टै बन्द हुन्थे। यसै क्रममा खुलेका स्काइलाइन एयरवेज, कस्मिक एयर बन्द भए। अन्तर्राष्ट्रिय रुपमा एयरलाइन्स कम्पनीहरूलाई पाइलट पाउन कठिन हुँदै गएको बेला यता विनोदलाई भने नेपालको अवस्था देखेर आफ्नो पेशाको भविष्य नै धरापमा छ भन्ने लाग्थ्यो बेलाबेला।तर छोरी नेहाले ६ बर्षको आन्तरिक उडान अनुभवसँगै नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि भने विनोद यो पेशाप्रति बढी आश्वस्त हुन थालेका छन्।

नेपालका नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।भविष्य अब उज्वल देखिए पनि पाइलट पेशामा आउने व्यक्तिमा निकै लगाव हुनुपर्ने बताउँछन् विनोद। ‘१०–५ को ड्युटी मात्र गर्छु भनेर यो पेशा चल्दैन’, उनी भन्छन्, ‘जतिबेला जे पर्छ गर्छु भन्ने प्रतिवद्धता चाहिन्छ, अनि नयाँ प्रविधिसँग उत्तिकै अपडेट भइरहनु पर्छ र आफुलाई त्यसमा अभ्यस्त गराउनु पर्छ।’‘विमान उडान गर्नु भनेको अरुकोजीवन आफ्नो हातमा लिएर उड्नु हो’, छोरी नेहातिर फर्केर विनोदले भने, ‘उडानका क्रममा निकै संयम हुनुपर्छ।’ नेपालखवर

प्रकाशित : 2 September, 2018

प्रतिक्रिया दिनुहोस्