आगामी चुनावमा विदेशमा बस्ने नेपालीले भोट हाल्न पाउने, तर विदेशी नागरिकता त्यागेको हुनुपर्ने

काठमाडौं । भदौ १८, अबको चुनावमा विदेशमा बस्ने नेपालीहरुले पनि विदेशबाटै मतदान गर्न पाउने वातावरण बन्दैछ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेसँगै निर्वाचन आयोगले यसबारे छलफलको तयारी थालेको हो ।
यसअघि पनि विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्नेबारे छलफल नभएको भने होईन । तर आवश्यक नीति, प्रक्रिया र समयका कारण सम्भव हुन सकेको थिएन ।
के छ सर्वोच्चको आदेशमा ?
सर्वोच्चले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो चुनावदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको हो ।
विदेशमा रहेका सबै नेपालीले चुनावमा मतदान गर्न भने पाउँदैनन् । सर्वोच्चको आदेशमा मतदानमा भाग लिनका लागि नेपाली नागरिकले विदेशी नागरिकता त्यागेको हुनुपर्ने उल्लेख छ । विदेशमा बसेको भएता पनि नेपाली नागरिकता नत्यागेको र अरु कुनै पनि देशको नागरिकता नलिएको हुनुपर्ने सर्वोच्चले स्पष्ट पारेको छ ।