अबको पाँच वर्षभित्र कुनै नेपाली गरिब हुनु पर्दैन : प्रधानमन्त्री ओली
सहयात्रा टिभी
काठमाण्डौं । भदौ–२४, प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षभित्रमा कुनै पनि नेपाली गरिब नहुने बताएका छन् । आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरिबी हटाइने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालीलाई गरिबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकहरूको कमजोरीका कारण नेपालीहरूले यस्तो नियती भोग्नु परेको बताए।
‘स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपालीहरू गरिब हुनु सुहाउने कुरा होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘अब पाँच वर्षभित्रमा कोही पनि नेपालीले गरिब हुनु पर्दैन।’
प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए।
‘अब पुरानो युगको अन्त्य भयो’, प्रधानमन्त्री ओलीले भने, ‘नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नु पर्दछ ।’
यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।


