नियमविपरीत ट्याक्सी चलाउने ३३७ ट्याक्सी चालक कारबाहीमा

काठमाण्डौं । भदौ–२८, महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत ट्याक्सी चलाउनेलाई कारबाहि गर्ने अभियानअन्तर्गत ३३७ ट्याक्सी चालकलाई कारबाही गरेको छ । प्रहरी महाशाखाले भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।
महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी गराए ।“महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उनले भने, “यात्रु ठग्ने ट्याक्सी चालकलाई कारबाहीका लागि निरन्तर अभियान सञ्चालन गरिन्छ । ”
महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत रु तीन हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ ।