निर्मला हत्याको विरोधमा संसद बैठक अवरुद्ध
काठमाण्डौं । भदौ–२८, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । बिहिबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि संसद बैठक अवरुद्ध भएको हो ।
सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए ।
‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ’ उनले भने ‘यो घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’यस्तै रोल्पामा तरुण दलका नेताको हत्या भएको र पछिल्लो समय पत्रकारहरुलाई पक्राउ गरिएको भन्दै प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने उनले बताए ।
सभामुखले सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएर उपयुक्त समयमा जवाफ दिने प्रतिक्रिया दिए पनि कांग्रेस सांसदहरुले भने जवाफ तुरुन्तै चाहिएको भन्दै संसद अवरुद्ध गरेका हुन् ।