केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कञ्चनपुरमै फेरि दुई बालिका बलात्कृत, एक आरोपी पक्राउ

सहयात्रा टिभी

महेन्द्रनगर । भदौ–३१, कञ्चनपुर बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो ।

विष्टले भदौ १५ गते शुक्रबार दुवै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लगी बलात्कार गरेको परिवारले आरोप लगाएको छ । ‘१५ दिनअघि नै स्कुलबाट घर फर्किंदा छोरीहरूमाथि बलात्कारको घटना भएको रहेछ’, एक बालिकाकी आमाले भनिन् । ‘घरमा भन्यो भने मारिदिन्छु भन्दै डर देखाएको रहेछ’, दुवै बालिकाले डरका कारणले दुईसातासम्म घटना लुकाएर राखेकाले ढिलो घटना बाहिर आएको परिवारले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।’ विष्टलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णराज ओझाले बताए ।

प्रकाशित : 16 September, 2018

प्रतिक्रिया दिनुहोस्