आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाण्डौं । असोज–३, आज असोज ३ गते संविधान दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । २०७२ साल असोज ३ गतेका दिन संविधान जारी भएको आज तीन वर्ष पुरा भएको अवसरमा देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइने भएको हो ।
संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी लगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको भेशभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यसैगरी देशका अन्य विभिन्न ठाउँहरुमा पनि विविध कार्यक्रम गरि आज संविधान दिवस मनाइने भएको छ ।