केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

सहयात्रा टिभी

काठमाण्डौं । असोज–८, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताएका छन् ।

उनले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरे ।
राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्युयोर्क आइपुगेक परराष्ट्रमन्त्री ज्ञवालीले नेपालका सरकारी संचारमाध्यमले प्रश्नको उत्तर दिनेक्रममा सो कुरा बताएका हुन् ।

उनले नेपालमा निकै लामो सङ्घर्षपछि प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको र त्यसलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन भएको उल्लेख गरे ।

उनले मुलुक राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरिरहेको र यस अवस्थामा नेपालले हासिल गरेका उपलब्धि सरकारले विश्वसमक्ष प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गरे ।

मन्त्री ज्ञवालीले नेपालको युगान्तकारी परिवर्तनमा राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको र नेपाल सरकारले यस उपलब्धिलाई नेपाली जनताको आर्थिक जीवनसँग जोड्न चाहेको बताए ।

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा नेपालका मित्रहरूलाई बुझाउने, यसमा पनि उनीहरूको साथ र समर्थन जुटाउने र त्यसलाई प्राप्त गर्न आग्रह गर्न राष्ट्र सङ्घको महासभालाई उपयोग गर्ने उद्देश्य राखिएको जानकारी दिए ।

त्यस्तै मन्त्री ज्ञवालीले दिगो विकासको योजनाको १२ वर्ष बाँकी रहेको, त्यसलाई प्राप्त गर्न विशेष प्राथमिकताका साथ कार्य गर्न नसकिएको र युद्धमा भएका खर्चको निकै सानो भाग मात्र स्वास्थ्य तथा शिक्षामा खर्च हुने गरेको बताए ।

महासभाको अधिवेशनबीच विभिन्न मुलुकका सरकार प्रमुखसँग हुने भेटघाट तथा छलफल नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्न उपयोगी हुने ठानिएको उनले पनि उल्लेख गरे ।

त्यस्तै उनले हाल संयुक्त राष्ट्र सङ्घको भूमिकामा प्रश्न उठाउन थालिएको र विकासोन्मुख मुलुकलाई विकसित देशले दिएको योगदान कटौती हुँदै गएको बताउँदै यी समस्या समाधान गर्न, संयुक्त राष्ट्र सङ्घको भूमिका प्रभावकारी बनाउन र बहुपक्षीयताका कुरालाई बहुपक्षीय, क्षेत्रीय र विश्वव्यापी रूपमा उठाउन नेपालले चाहेको धारणा राखेका थिए ।रासस

प्रकाशित : 24 September, 2018

प्रतिक्रिया दिनुहोस्