फिफा उत्कृष्ट खेलाडी अवार्ड मोडरिकको हातमा

एजेन्सी । असोज–९, फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यो पटक क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोडरिकले जितेका हुन् ।
यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए । मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए । ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।