सातौँ पटकमा छुटे नेकपाका नेता प्रकाण्ड
काठमाण्डौं । असोज–१०, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ मंगलबार रिहा भएका छन्। पटक पटक अदालतबाट रिहा भएपनि अदालत परिसरबाटै प्रहरीद्धारा पक्राउ परि हाल्ने विश्वकर्मा यस पटक भने वास्तवमै रिहा भएका हुन् ।
सर्वोच्च अदालतमा दायर पाँचौं पटकको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको बहसपछि भएको आदेशमा प्रकाण्ड मंगलबार साँझ रिहा भएका हुन् । पछिल्लो पटक गएको भदौ २९ गतेदेखि उदयपुरमा विष्फोटक पदार्थको अभियोगमा प्रहरीले हिरासतमा राख्दै आएको थियो ।
मंगलबारको बहसपछि न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बन्दी बनाइएका प्रकाण्ड माथिको अभियोग आधारहीन, वस्तुनिष्ठ र अप्रमाणित भएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो ।
अभियोग मुलतः राजनीतिक पूर्वाग्रह र प्रतिशोध भावनाबाट लगाइएको र संविधान बमोजिम गठित राजनीतिक पार्टी संचालन गरिरहेको व्यक्तिको वैयक्तिक स्वतन्त्रसमेत हनन गरेको ठहर गरिएको छ । बहसमा रिट निवेदकको पक्षबाट वरिष्ठ अभिवक्ता एकराज भण्डारी, खिमानन्द अधिकारी, कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगानालगायत दुई दर्जन वकिलहरुले बहस गरेका थिए ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका प्रवक्ता प्रकाण्डलाई गएको साउन २२ गते पार्टी काम सकेर काठमाडौं आउँदै गर्दा काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट सहयोगी हरिचन्द्र आचार्य र चालक मनबहादुर श्रेष्ठसँगै गिरफ्तार गरिएको थियो ।
रिहा भएलगत्तै प्रकाण्डलार्ई सयौं संख्यामा भेला भएका समर्थक, कार्यकर्ता, नेता, शुभचिन्तक, वकिल, पत्रकारले स्वागत गरेका थिए । स्वागतपछि माइतीघर मण्डलमा आयोजिक छोटो कोणसभालाई सम्बोधन समेत गरे । सम्बोधन गर्दै प्रकाण्डले नेकपासँग राज्यसत्ता जित्ने शक्ति भएकैले अब सरकारले नेकपाका नेता कार्यकर्तालाई झुठा मुद्दामा लामो समय राख्न नसक्ने बताए ।