केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनालग केवल धमाधम बन्द, मानिसहरु डिस होमतर्फ आकर्षित

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१४, सम्पूर्ण टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने उद्देश्यले सुचना तथा संचार प्रविधि मन्त्रालयले हाल देशभरका विभिन्न ठूला शहरहरुमा कडाइका साथ अुनगमन गरिरहेको छ । काठमाण्डौं अपत्यकामा पूर्ण रुपमा एनालग केवल बन्द भएसँगै विराटनगर, इटहरी, विरगञ्ज, वुटवल, नेपालगञ्ज लगायतका ठूला शहरहरुमा समेत अनुगमन गरि एनालग केवल बन्द गराइएको छ ।

हाल देशभर नै अनुगमन कार्यलाइ तिव्र बनाएर संचार मन्त्रालय अगाडि बढिरहेको छ । अहिले केवल सञ्चालकले ग्राहक सङ्ख्या न्यून देखाएर मूल्य अभिवृद्धि कर बिल जारी नगर्ने समस्या बढेसँगै अनुगमन थालिएको सुचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीले बताए । उनका अनुसार भारतीय डिटीएचबाट गैरकानूनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको व्यवस्था प्रभावकारी हुने अपेक्षा छ ।

अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिर्नु नपर्ने जानकारी दिँदै इलेक्ट्रोनिक इञ्जिनीयर भुजेलले भने, “यसले सरकारको राजश्वमा वृद्धि हुनुका साथै पूर्ण रुपमा डिजिटाइजेशन प्रक्रिया सकिएपछि केवल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउने छन् ।”

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि एक हजार ५०० देखि चार हजार ५०० मूल्यका छुट्टै सेट–अप बक्स लगाउनुपर्छ । यो प्रणालीअनुसार ग्राहकले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै त्यस्तो बक्स जोड्नुपर्छ । हरेक टेलिभिजनमा उक्त बक्स राखेर सेवा लिएबापत सञ्चालकलाई छुट्टै शुल्क तिनुपर्छ ।

सञ्चार मन्त्रालयबाट गत वैशाख १५ बाट नै सम्पूर्ण एनालग केवल सञ्चालकहरुलाई केवल बन्द गर्न पत्र पठाएको थियो । मन्त्रालयबाट पटक पटक सुचना र चेतावनी दिए पनि केवल बन्द नगरेपछि मन्त्रालयले अनुगमन गरेर नै केवल बन्द गराउने अभियान सुरु गरेको हो । अब चल्ने सम्पूर्ण एनालग केवलहरु अवैधानिक ठहरिनेछन् ।

सातैवटा प्रदेशका ठूलाठूला शहरहरुको अनुगमन सँगै सानासाना शहर र गाउँगाउँमा समेत अनुगमन गरि एनालग केवलद्धारा संचालित केवल प्रणाली बन्द गराउन निरन्तर लागी परिरहेको संचार मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर अनिल भुजेलले जानकारी गराएका छन् ।

सरकारले एनालग प्रविधिमा सञ्चालन भइरहेका केवल टेलिभिजनको नवीकरणमा समेत श्रावणबाट रोक लगाएको छ । नवीकरणमा रोक लगाइएका केवलहरुले श्रावणपछि नवीकरण गर्न चाहेमा प्रत्येक महिना १० प्रतिशत बढि जरिवाना तिरेर मात्र नवीकरण गर्न पाउने छन् । मंसिरमा ५० प्रतिशत जरिवाना तिरेर नवीकरण गर्न सक्नेछन् भने पुषमा नवीकरण गर्न चाहे १०० प्रतिशत नै जरिवाना लाग्ने छ । यदि ती केवलहरुले पुषसम्म पनि नवीकरण नगराएमा ती सम्पूर्ण केवल नेटवर्कहरु स्वतः खारेज गरिने व्यवस्था सञ्चार मन्त्रालयले मिलाएको छ ।

यता देशभरका एनालग केवलहरु बन्द हुँदै जाँदा मानिसहरुको ध्यान भने डिस होम तर्फ आकर्षित भइरहेको देख्न सकिन्छ । प्रदेश नं. १ को इटहरी, विराटनगरमा एनालग केवल बन्द भएसँगै डिस होमको माग ह्वात्तै बढेको देखिएको छ । डिस होमले आफ्ना ग्राहकहरुको माग र रुचि अनुसारका च्यानलहरु संचालनमा ल्याएर र विभिन्न अफरहरुको आयोजना गरेर विभिन्न सेवा सुविधाहरु प्रदान गरि ग्राहकहरुको मन जित्न सफल भइरहेको छ । नेपालमै पहिलो डिजिटल प्रणालीद्धारा सञ्चालित डिस होमले गुणस्तरीय ढङ्गबाट सेवा प्रदान गर्दै आइरहको छ । डिस होमले चाँडैनै सर्वसाधारणहरुमा शेयर जारी गर्न प्रक्रिया पनि चलाइरहेको छ ।

प्रकाशित : 30 September, 2018

प्रतिक्रिया दिनुहोस्